नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए।
'राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,' उनले भने।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको हो। कात्तिक २ गते आइतबार काग तिहार थियो। त्यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइयो।
कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा थियो।
गाई, गोरू र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार छ। भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार परेको छ।