तिब्बतियन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जिङ दावा लामाको नागरिकताको प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिएको छ। तर ढड्डामा निवेदनका कागजातहरू भने भेटिएको छैन।
पेस्तोल देखाएको भिडिओ बनाउँदा पक्राउ परेका लामाको जन्मदर्ता र नागरिकता नै शंकास्पद हुनसक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
यसबारे बुझ्न प्रहरीले काठमाडौं महानगरपालिका-६ को वडा कार्यालय र जिल्ला प्रशासन कार्यलयमा पत्राचार गरेको थियो।
स्रोतका अनुसार दुबै कार्यालयले जबाफ फर्काइसकेको छ।
प्रशासन कार्यालय स्रोतका अनुसार सिटिजनसिप इन्फर्मेशन म्यानेजमेन्ट सिस्टममा तेन्जिङको नागरिकता देखिएको छ। तर निवेदनका कागजातहरू भने भेटिएका छैनन्। नागरिकता बनाउन वडा कार्यालयको सिफारिस, आमा/बुबाको नागरिकता आवश्यक पर्छ। त्यसकारण यस विषयमा थप अनुसन्धान नभइकन नागरिकता कसरी लिएको थियो भन्ने यकिन गर्न नसकिने स्रोतले बतायो।
‘नागरिकता सिस्टममा देखिन्छ। तर निवेदन लगायतका कागजातहरू फेला परेका छैनन्। दुई वटा कारण हुनसक्ने भयो। भदौ २४ गते जलाउँदा उनको विवरणका कागजात जलेको हुनसक्ने भयो,’ स्रोतले भन्यो, ‘अर्को अरू नै कुनै माध्यमबाट नागरिकता बनाएको हुनसक्ने भयो।’
तेन्जिङको नागरिकता २०७९ असार २४ गते जारी भएको देखिन्छ। त्यस नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौलाले हस्ताक्षर गरेको देखिन्छ।
जारी भएको नागरिकता सक्कली हो वा होइन भन्ने विषयको जाँच हस्ताक्षरकै परीक्षणबाट पनि थाहा हुनसक्ने स्रोत बताउँछ।
‘कर्मचारीको हस्ताक्षरको फरेन्सिक जाँच गरेर पनि थाहा हुनसक्छ। सक्कली हो कि नक्कली। बाँकी कुरा अनुसन्धानबाट पनि खुल्ला,’ स्रोतले भन्यो।
प्रहरीका अनुसार तेन्जिङले आफू काठमाडौं महानगरपालिका-६ मा जन्मिएको बताएका छन्।
सो वडाका वडाध्यक्ष भुवन लामाले भने नागरिकताको सिफारिस नभेटिएको बताए। त्यस्तै जन्मदर्ताको विवरण पनि नभेटिएको उनको भनाइ छ।
‘जन्मदर्ता र नागरिकताको सिफारिस गरेको भनिएको कुनै पनि विवरण हामीले यहाँ फेला पार्न सकेनौं। उहाँको बुबाआमालाई पनि चिनेनौं। यहीँको मतदाता वा घर भएको भए चिन्थ्यौं,’ उनले भने।
तेन्जिङ २०५३ माघ २१ गते जन्मिएको जन्मदर्ता छ। उक्त जन्मदर्ता २०६३ चैत १० गते दर्ता भएको प्रमाणपत्र प्रहरीले फेला पारेको छ।
तर त्यसदिन शनिबार परेकाले प्रहरीले शंकास्पद भनेर अनुसन्धान अघि बढाएको थियो।
काठमाडौं प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताए पनि केही जानकारी दिएको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंले तेन्जिङलाई पक्राउ गर्दा एउटा नक्कली पेस्तोल पनि बरामद गरेको थियो। जसलाई उनले भिडिओ बनाउन प्रयोग गरेको भनिएको छ।
जेनजी आन्दोलन भड्काउन उनीसहित टिओबी अर्थात तिब्बतियन ओरिजिनल ब्लड समूहको संलग्नता रहेको भन्दै प्रचार भएको थियो। तेन्जिङले बिजुली बजारमा बनाएको एउटा भिडिओलाई आधार बनाएर उनीहरूले नै हिंसा भड्काएको आरोप लगाइएको थियो। तर उक्त भिडिओ केही महिनाअघि नै बनाएको खुलेको थियो।
अहिले परिसरको हिरासतमा रहेका उनीमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएको छ।
तेन्जिङ पेसाले ट्याटु आर्टिस्ट र गायक हुन्।
उनी बौद्धमा डेरा गरी बस्दै आएका छन्। प्रहरीले उनको साथबाट वाकीटकीको चार्जर पनि फेला पारेको छ।
उनको भदौ २३ गते भएको आन्दोलन भड्काउनमा भूमिका रहे/नरहेकोबारे पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ।
उनले आफ्ना बुबाको ७ वर्षअघि नै मृत्यु भएको र आमा भारतमा रहेको बयान प्रहरीसँग दिएका छन्। त्यस्तै आफ्नी दिदी पनि रहेको उनले बताएका छन्।
तर दिदीसँग पनि सम्पर्क भइसकेको छैन।
तेन्जिङले आफ्नो कपडामा रहेको टिओबीबारे पनि प्रहरीसँग बताएका छन्।
उनले आफूहरू बाइकर्स समूह भएको र त्यसमा अन्दाजी ५० जना जति संलग्न रहेको पनि बताएका छन्। कपडामा डिजाइन पनि आफै बनाएको उनले बताएका छन्।
टिओबी समूहको नाम उल्लेख भएको डायरी पनि बरामद भएको प्रहरीले जनाएको छ।