नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले काठमाडौंमा त्यसदिन आगजनी भएको अधिकांश ठाउँको आगो भोलिपल्टै निभाइएको दाबी गरेको हो।
'एउटा कुरा के पनि भन्न चाहन्छु भोलिपल्टको करिब करिब आठ नौ बजे तिर अधिकांश ठाउँको आगो निभिसकेको छ, ' के हुँदो रहेछ भने केही ठूला भवनहरुमा आगो निभिसकेपछि भित्र भित्रको त्यो आगो बाँकी भएको फेरि आउँदो रहेछ। सर्वोच्च अदालतकै आगो भोलिपल्ट निभिसकेको हो,' युद्धकार्य निर्देशनालय प्रमुख सहायक रथी मनोज थापाले भने।
सहायक रथी थापाले सिंहदरबारमा आगजनी भएलगत्तै दमकल परिचालन भएको पनि बताए।
'झण्डै साढे १ बजे सिंहदरबार भित्र रहेको एउटा दमकल बाट मुख्य प्रवेशद्वारमा लागेको आगो हामीले त्यो दमकललाई तुरुन्त परिचालन गरेर निभायौं। त्यसपछि त्यो दमकल फेरि आफ्नो ठाउँमा गयो। सिंहदरबारमा फेरि आगो लागिसक्यो। यो दुई बजेपछिको घटना हो,' उनले भने।
त्यसपछि आगो निभाउन गएको दमकलको पांग्रामै आन्दोलनकारीहरू सुतेपछि तुरुन्तै सिंहदरबार पुर्याउन नसकिएको उनले बताए।
'तर उहाँहरुलाई विभिन्न तरिकाबाट हटाई सकेपछि २ बजेर ३५ मिनेट गएपछि सिंहदरबारको आगो निभाउन हाम्रो दमकल गइसकेको छ। पहिला सिंहदरबारकै दमकल गएको हो,' उनले भने, 'त्यसको केही बेरमा जंगी अड्डाकै परिसरमा रहेको अर्को दमकल तुरून्तै पठाइयो। तर जताततै भिड, आन्दोलनकारी थिए। उहाँहरूको प्रमुख उद्धेश्य नै हामीलाई अवरोध गर्ने थियो।'
सहायक रथी थापाले काठमाडौं महानगरपालिकाको दमकल पनि ८ बजेतिर गएको बताए।
'उहाँहरुको दमकल विभिन्न ठाउँमा चाही अवरोध भएको हो। महानगरपालिका संग मेरो सुरुदेखि नै सम्पर्कमै छु। त्यहाँको दमकल यो यो ठाउँमा छ। र अहिले एक दुई ठाउँमा ड्राइभरहरू छैनन् त्यो ड्राइभरको व्यवस्था गरेर दमकल लानुस भन्दाखेरि आन्दोलनकारीहरुले हामीलाई समयमा दमकल लान नदिएका हुन्,' उनले भने।
त्यसैले ढिला भएको उनले बताए।
अधिकांश संरचनाहरुको आगो भोलिपल्टैं निभेपनि हिल्टन होटलको भने तीन चार दिनसम्म निभाउन नसकिएको सहायक रथी थापाले बताए।
'होटल हिल्टनमा चाहिँ अग्लो भएको हुनाले हामीसँग उपलब्ध दमकलहरुमा लामो भर्याङ नभएको हुनाले तेस्रो/चौथो दिनसम्म त्यहाँको आगो निभने,' सहायक रथी थापाले भने।