वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने १९ वर्षीय किशन यादवलाई पक्राउ गरिएको हो।
२६ असोज मध्यरातको समयमा वीरगञ्ज–१० आदर्शनगर नबिल बैंक अगाडि सडक खण्डबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा किशनले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली ५०० रुपैयाँ दरका ८६८ थान नोट अर्थात् ४ लाख ३४ हजार रुपैयाँ फेला परेको थियो। उनी विरूद्ध मुलुकी अपराध संहिता, २०७४ संशोधन २०८० को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरिएको छ। उनी विरूद्ध पर्सा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।