जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले धेरैजसो जिल्लामा ठूलो पानी पर्न रोकिएको बताएको छ।
काठमाडौं उपत्यकामा आइतबार बिहानैबाट पानी परेको छैन। यद्यपि काठमाडौंका केही स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।
पछिल्लो एक घन्टामा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जानकारी दिएको छ।
काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको छ।
बर्खामै सुख्खा लागेको मधेसमा भीषण वर्षा, सबैभन्दा धेरै रौतहट त्यसपछि इलाममा पर्यो पानी
बर्खा याममै सुख्खा व्यहोरेको मधेस प्रदेशमा यसपालि भीषण वर्षा भएको छ। गएको २४ घन्टामा रौतहटको महेशपुरमा ३३८.६ मिलिमिटर पानी परेको छ।
हामीले जल तथा मौसम विज्ञान विभागका मेटेरियोलोजिस्ट सुदर्शन हुमागाईंलाई मधेसमा रेकर्ड ब्रेक वर्षा भएको हो भनेर सोधेका थियौं। तर उनले मधेसमा यसअघि यत्तिकै अनुपातमा पानी परेको बताए। यद्यपि यसबारे अध्ययन भइरहेको पनि उनको भनाइ छ।
‘अहिले विभागको वेबसाइटमा अद्यावधिक विवरण स्वचालिन मौसम केन्द्रहरूको तथ्यांक हो। मानव सञ्चालित उपकरणको विवरण रूजु गरेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘यत्तिको अनुपातमा पहिले पनि पानी पर्ने गरेको थियो।’
असार र साउनको मध्यसम्मै पानी नपरेकाले तराईमा रोपाइँ हुन सकेको थिएन। वीरगञ्जमा त खानेपानीको हाहारकार नै भयो।
मधेस प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा ट्याङ्कर मार्फत् खानेपानी वितरण गरेको थियो। साउनको पहिलो हप्तासम्म मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको थिएन। तर मनसुनको उत्तरार्द्धमा त्यहाँ भीषण वर्षा भएको छ। बारा, पर्सा, रौतहट, सर्लाही धनुषामा उल्लेख्य वर्षा भएको छ।
विभागका अनुसार यसपालि दोस्रो धेरै इलाममा परेको छ। इलामको हिमाली गाउँ केन्द्रमा ३३४.२ मिलिमिटर वर्षा भएको छ। यो गत २४ घन्टाको अद्यावधिक तथ्यांक हो।
तेस्रोमा रौतहटकै गौरमा पानी परेको छ, त्यहाँ २४ घन्टामा ३०७.६ मिलिमिटर वर्षा भएको छ।
रौतहटकै गरूडामा २९३.६ मिलिमिटर वर्षा मापन भएको छ। इलाम टि–इस्टेटमा २८९.८, सिन्धुलीको हरिहरपुर गढीमा २७९.४, इलाको कन्याम टि–इस्टेटमा २७८.२, पर्साको मुडली केन्द्रमा २७७.८, वीरगञ्जमा २६६.६, बाराको कलैयामा केन्द्रमा २५७.४, झापाको बाहुनडाँगीमा २४५.८.मोरङको हरैँचामा २४४.४, बाराको निजगढमा २४१, धनुषाको तुलशीमा २३५.६, चतराको सप्तकोशी मापन केन्द्रमा २२६.८, पर्साको रंगपुरमा २२६.२, मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, सर्लाहीको मनुस्मारामा २२४.६, मलंगवामा २१८, बाराको सिमरा विमानस्थलमा २०७.६, काभ्रेको खोपासी केन्द्रमा २०७, धनकुटाको मूलघाटमा २००.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको अहिले ८ः२० सम्मको अद्यावधिक सूचनामा जनाइएको छ।
काठमाडौं उपत्यकामा कति पर्यो पानी?
काठमाडौं उपत्यकामा गत वर्ष रेकर्ड ब्रेक वर्षा भएको थियो। गत वर्ष काठमाडौं उपत्यकाका ११ स्थानमा यसअघि परेको पानीको रेकर्ड तोडिएको थियो। शुक्रबारदेखि शनिबार साँझसम्म लगातार वर्षा भए पनि काठमाडौंमा अति भारी वर्षा भने भएन।
विभागका अनुसार ललितपुरको लेले १६९.२, मा गोदावरीमा १६२.२, काठमाडौंको सुन्दरीजलमा १५०.२ मिलिमिटर वर्षा मापन भएको छ।