काठमाडौंको रानीबारीस्थित खोलामा एक दम्पती हाम फालेका छन्। यो घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती बेपत्ता छिन्।
शनिबार अपराह्न सवा ४ बजेतिर काठमाडौं महानगरपालिकाको म्हेपी रानीबारी खोलामा यो घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। लगातारको झरीले खोलाको सतह बढेर अहिले भेल आइरहेको छ।
उनका अनुसार बेपत्ता हुने रितु रोका हुन्। उनका श्रीमान श्याम बुढाथोकीको भने उद्धार गरिएको छ।
श्रीमान-श्रीमतीबीच झगडा भएपछि दुवै जना खोलामा हाम फालेको उनले बताए।
यसबीच उनीहरू खोलामा हाम फालेको देखेर धादिङ ज्वालामुखी गाउँपालिका घर भई म्हेपी बस्ने अमन टुन्चिङ मगर बचाउन हाम फालेका थिए। उनले श्रीमान श्याम बुढाथोकीलाई समाए। तर उनलाई समेत बगाउन लागेपछि प्रहरीले दुवै जनाको उद्धार गरेको हो।
मगर र बुढाथोकीलाई उपचारका लागि पिपल्स अस्पताल लगिएको थियो। त्यहाँबाट उनीहरू डिस्चार्ज भइसकेका छन्।