पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको बोलेरो गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो करिब १२ बजेतिर तमोर करिडोर सडक खण्डमा अनियन्त्रित भई सडकबाट दाहिनेपट्टि करिब ५०० मिटर तल तमोर खोलाको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय यासोकबाट र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब निरीक्षक अनिशकुमार कर्णको नेतृत्वमा ११ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।
गाडीमा सवार ११ जनामध्ये तत्काल पहिचान नखुलेका ६ जना घाइते छन्। तीमध्ये पाँच जनालाई थप उपचारका लागि धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घटनास्थलमै दुई महिला र तीन पुरूषको मृत्यु भएको बुझिएको छ। उनीहरूको सनाखत बाकी रहेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिएका छन्।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय यासोकबाट करिब १६ किलोमिटर उत्तरतर्फ पर्छ।