अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक क्याथोलिक विद्यालयमा गोली हानेर दुई बालबालिका मारेका एक सुटरले प्रयोग गरेको भनिएको हतियारमा भारतमाथि आणविक हतियार प्रहार गर लेखिएको पाइएको छ।
मिनेसोटाका २३ वर्षीय रबिन वेस्टम्यानले बुधबार एक क्याथोलिक विद्यालयमा दुई बालबालिकालाई गोली हानी हत्या गरेका थिए।
सो गोलीकाण्डमा आठ र १० वर्षका दुई बालबालिकाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। उनले पछि गोली हानेर आफ्नो पनि ज्यान लिएका थिए।
पढ्नुसः तीनवटा बन्दुक बोकेर विद्यालय छिरेका युवकले प्रार्थना सभामा चलाए अन्धाधुन्ध गोली
उनले प्रयोग गरेको भनिएको एउटा बन्दुकमा भारतमाथि आणविक हतियार प्रहार गर् (न्युक इण्डिया) लेखिएको थियो भनेर सो घटना बारेको भिडियो फुटेज उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले लेखेको छ।
अनलाइनमा प्रसारित भिडियो फुटेजमा वेस्टम्यानले आफ्ना गोलीगठ्ठा, राइफल र बन्दुकहरू देखाएको भनिएको छ। एउटा बन्दुकमा सेतो रङ्गले ‘न्युक इण्डिया’ लेखिएको छ।
सो घटनाका सुटर वेस्टम्यानले खिचेको र पछि सामाजिक सञ्जालमा पोस्ट गरिएको एक पुरानो भिडियोको स्थिर तस्बिरमा सन्देश र नामहरूले सजाइएको हतियार र राइफलका म्यागजिनहरू देखिएका छन्। उक्त भिडियो अहिले हटाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट लउरा लुमरले एक्समा पोस्ट गर्दै मिनेसोटाका सुटरको बन्दुकमा अंग्रेजी लिपीमा ‘माशाल्लाह’ र ‘न्युक इण्डिया’ लेखिएको बताएको पनि द हिन्दुले जनाएको छ। सुटरले इसराइल बिफल हुनै पर्छ पनि लेखेका थिए।
ट्रम्पलाई प्रभाव पार्न सक्ने मानिएकी लुमरले सो घटनालाई डेमोक्र्याटिक पार्टीकी उदारवादी सांसद इल्हान ओमरमाथि प्रहार गर्न पनि प्रयोग गरिन्।
'स्पष्ट रूपमा भारतविरोधी र यहूदीविरोधी इस्लामिक दुष्प्रचारबाट प्रभावित। इल्हान ओमरको जिल्लामा बस्ने यस्तो व्यक्तिले क्याथोलिकहरूलाई मार्नु कुनै आश्चर्यको कुरा होइन। यो ‘रेड-ग्रिन’ गठबन्धनको अर्को उदाहरण हो,' लुमरले भनिन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)