जीवशास्त्रमा रूचि भएका सर्वसाधारणदेखि संरक्षणकर्मीहरूसम्मका लागि कोशी नदीबाट एउटा खुसीको खबर छ।
संकटापन्न अवस्थामा पुगेको मानिने डल्फिनको संख्या कोशीमा भने हरेक वर्ष बढ्दो क्रममा देखिएको छ। यसले सरकारी निकायदेखि संरक्षण क्षेत्रमा काम गरिरहेका विज्ञहरूलाई पनि हर्षित तुल्याएको छ।
यसपटक कोशीमा डल्फिन गणनामा निस्कनुअघि सरकारी अधिकारी र संरक्षणकर्मीहरू यसको संख्याको विषयलाई लिएर चिन्तित थिए।
गत वर्षको तुलनामा डल्फिनको संख्या घटेको छ कि भन्ने चिन्ताले पिरोलिँदै गणनामा सुरू गरेको विज्ञ टोलीले कोशीमा यो स्तनधारी जीवको संख्या बढेको पाइएपछि सन्तोषको सास फेरेको छ।
‘गत वर्ष १९ वटा भेटिएको डल्फिन कोशीमा यसपटक २२ वटा भेटिनु ज्यादै सुखद् विषय हो,’ कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले उत्साही भावमा भने, ‘सन् २०२२ देखि कोशीमा डल्फिन गणना सुरू भएको हो। प्रत्येक वर्ष बढेकै पाइनु खुसीको विषय हो।’
उनका अनुसार यसपटक कोशीमा १५ वटा वयस्क डल्फिन भेटिएका छन् भने ५ वटा अर्धवयस्क र २ वटा बच्चा भेटिएका छन्। जेठ १५ देखि १८ गतेसम्म चार दिन लगाएर कोशी नदीमा डल्फिन गणना भएको थियो।
यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थपिएर डल्फिनको संख्या २२ पुगेको हो। तीमध्ये २ वटा बच्चा माउले बोकेर हिँडेको भेटिएको गणनामा संलग्नहरूले जानकारी दिएका छन्।
डल्फिनको बच्चा माउसँगै देखिएको दृश्यले नेपाली भूमिमा नै डल्फिनले बच्चा जन्माएको हुनसक्ने अनुमान यादवको छ।
सरदर ३० देखि ४० वर्षको आयु हुने यो आकर्षक जीव नेपालका नदीमा बढेको अवस्थामा भेटिँदा त्यसले धेरै चिजमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूको भनाइ छ।
सबभन्दा ठूलो कुरा त संकटग्रस्त भनिने यो जलचर जीवको संख्या बढ्नु सकारात्मक पर्यावरणीय सूचक हो।
‘हाम्रा नदीहरूमा डल्फिनको बढ्दो उपस्थिति हाम्रो जैविक सम्पत्तिको वृद्धि हो,’ यादवले भने, ‘यसले हाम्रो नदी प्रणाली स्वच्छ रहेको प्रमाण पनि दिन्छ।’
आफ्नो सिंगो जिन्दगी पानीभित्रै बिताउने डल्फिन कुनै पनि नदीमा भेटिनु त्यहाँको पानी स्वच्छ रहेको प्रमाण भएको यादवको भनाइ छ।
‘नदी प्रणालीको स्वच्छता कुन अवस्थामा छ भन्ने मापन गर्ने एउटा महत्वपूर्ण आधार त्यहाँ पाइने जीवहरू पनि हुन्, अझ डल्फिन त स्वच्छ पानी भएकोमा मात्रै पाइने हो,’ उनले थपे, ‘जुन नदी प्रणालीमा डल्फिनहरू पाइन्छ र तिनको संख्या बढेको भेटिन्छ भने त्यहाँको स्वच्छताको अवस्था राम्रो रहेको मानिन्छ।’
यस हिसाबले कोशीको स्वच्छता सन्तोषजनक रहेको मान्नुपर्ने उनको भनाइ छ। यद्यपि नदी प्रदूषण अझै घटाउने र विषादीहरूको प्रयोग रोक्ने अनि माछा मार्नेहरूबाट सुरक्षा प्रदान गर्ने हो भने कोशीमा डल्फिनको संख्या अरू बढ्ने उनको अनुमान छ।
आरक्ष र प्रकृति संरक्षण कोषका विज्ञहरूका अनुसार कोशीमा पाइने डल्फिनका लागि ब्यारेजका ढोकाहरू सबभन्दा ठूलो अवरोध बनेर खडा भएका छन्। यसपटकको गणनामा सबै डल्फिन कोशी ब्यारेजबाट दक्षिणतिरको भागमा मात्रै पाइएको छ।
‘माछा भन्नुस् या डल्फिन, उनीहरूको मुख्य विशेषता नै पानीको एन्टी करेन्टमा हिँड्नु हो,’ प्रकृति संरक्षण कोष कोशी केन्द्रका प्रमुख वीरेन्द्र गौतमले भने, ‘यसपटक सबै डल्फिन कोशी ब्यारेजबाट दक्षिणतिर मात्रै भेटिएको छ। यसले पनि उनीहरूलाई माथिल्लो भागतिर जानबाट ब्यारेजका ढोकाले रोकेको देखिन्छ।’
यदि ब्यारेजका ढोकाहरू खुला छाडेर डल्फिनको आवतजावत सहज बनाउने हो भने उनीहरू अझै माथिल्लो भागसम्म आवतजावत गर्थे र त्यसले संख्या बढाउन पनि मद्दत गर्ने उनको भनाइ छ।
नदीमा पानीको बहाव जति जति बढ्दै जान्छ, डल्फिन आहाराको खोजीमा त्यति नै उँभो–उँभो लाग्दै जान्छन्। कोशी ब्यारेजका सबैजसो ढोकाहरू बर्खामा पानीको बहाव उच्च हुँदा प्रायः बन्द नै हुन्छन्।
त्यसले पनि डल्फिनको सहज आवागमन रोकेको गौतम र यादव दुवैको भनाइ छ।
नेपालमा सबैभन्दा धेरै डल्फिन कर्णाली नदीमा पाइन्छ। त्यसपछि कोशी र गेरुवा नदीमा पाइने गरेको छ। कहिलेकाँही नारायणी नदीमा पनि डल्फिन देखा पर्ने गरेको छ।
सन् २०१७ मा भएको देशव्यापी डल्फिन गणनाका क्रममा ५२ वटा डल्फिन नेपालका नदीमा भेटिएका थिए। त्यसयता सबैतिर गणना नभए पनि कोशीमा भने सन् २०२२ यता नियमित भइरहेको छ।
कोशीमा पाइने डल्फिन भारतको गंगा नदीबाट नेपालतिर आएको हुन सक्ने संरक्षण क्षेत्रमा काम गरिरहेकाहरूको अनुमान छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा डल्फिन संरक्षित स्तनधारीका रूपमा सूचीकृत समेत छ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, आरक्ष सुरक्षामा रहेको नेपाली सेनाको भीमकाली गुल्म, तथा कोशीमा पंक्षी तथा वातावरण संरक्षणमा काम गर्दै आएको कोशी बर्ड अब्जरभेटरी र हिमाली प्रकृति नामका संस्थाका प्रतिनिधि गणनामा सामेल थिए।
-copy-1749210903.jpg)
प्रकृति संरक्षण कोष कोशीका प्रमुख गौतमका अनुसार नदीमा डुङ्गा र किनारबाट गणना गरिएको हो। डल्फिन देखिने खास स्थानहरूमा गणकहरू बसेर नियालेका थिए।
कोशी ब्यारेजको दक्षिणी क्षेत्रमा पर्ने सप्तरीको गोबरगाडा आसपासमा मात्रै छ वटा डल्फिन फेला परेका थिए।
कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख यादवले अहिले जहाँ डल्फिन भेटिएका छन्, त्यो इलाका आरक्षको अधिकार क्षेत्रमा पर्दैन। त्यो क्षेत्र व्यावसायिक रूपमा माछा मारेर जीविका चलाउनेहरूको ‘आधार क्षेत्र’ पनि हो।
‘त्यसैले त्यो क्षेत्रमा डल्फिन सुरक्षा ज्यादै संवेदनशील छ,’ उनले भने, ‘ठूला जालहरूमा बेरिनेबित्तिकै डल्फिन मर्नसक्छ। त्यसैले सुरक्षा व्यवस्था अहिलेको मुख्य चुनौती हो।’
माछा मार्नेहरूलाई डल्फिनको महत्व बुझाउन नसक्नु अर्को समस्या हो। डल्फिनका विषयमा दुई वर्षअघि सेतोपाटीसँगको कुराकानीमा संरक्षणकर्मी हठन चौधरीले दिएको एउटा जानकारीले पनि डल्फिनको सुरक्षा जोखिमको अवस्था दर्शाउँछ।
उनले भनेका थिए, ‘१०–१५ वर्षअघि त मैले कोशी नदी आसपासका बजारमा माछा भनेर डल्फिन बेचेको पनि देखेको थिएँ। पछि नेपाली सेनालाई भनेर यसमा कडाइ गरियो।’
कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख यादव अहिले त्यस्तो अवस्था नरहे पनि सुरक्षा जोखिम भने उच्च रहेको बताउँछन्।
‘डल्फिनको तेल लगाए अनेक रोग निको हुन्छ भन्ने भ्रम सर्वसाधारणमा पाइन्छ,’ उनले भने, ‘त्यही लोभले पनि डल्फिन मार्ने जोखिम बढाउँछ।’
विज्ञहरू डल्फिन बुद्धिमान जीवमा पर्ने बताउँछन्।
‘अपवादबाहेक यसको प्रजनन प्रणाली मान्छेकै जस्तो हुन्छ,’ वीरेन्द्र गौतमले थपे, ‘८ देखि ९ महिनामा डल्फिनले एउटै मात्रै बच्चा जन्माउँछ। नदीमा पाइने माछा, गंगटा, घुँगी लगायतका आहारा खाने डल्फिन हिंस्रक पनि हुँदैन।’