शुक्रबार बिहान सवा तीन बजेको हुँदो हो।
आकाशै खसेजस्तो ठूलो आवाजले युवराज थापाको निद्रा खुल्यो।
उनी दौडिएर बाहिर निस्किन सक्दैन थिए। उनको कम्भरभन्दा मुनिको भाग चल्दैन। त्यही कारण उनी ओछ्यानैबाट के भयो भन्दै चिच्याइरहे। पटक पटक भाइलाई बोलाए।
उनका भाइ प्रेम थापा बिहीबार मात्र उनलाई भेट्न आश्रममा आइपुगेका थिए। युवराजले शंखरापुर नगरपालिका वडाद नम्बर ६ मा द्वन्द्वपीडित तथा अपांगता समाज केन्द्र नेपाल (आश्रम) सञ्चालन गर्दै आएका छन्।
एकैछिनमा हल्लाखल्ला भयो।
प्रेम पनि ठूलो आवाजले बिउँझिसकेका थिए। उनको आँखा खुल्दा बत्ती थिएन। त्यसैले मोबाइलको टर्च बाल्दै बाहिर निस्किए। उनले आफू सुतेकै कोठाछेउमा केहीले थिचेको जस्तो देखे र कोठाभित्र छिरे।
'त्यहाँ सुतेकालाई हतार हतार निकालेँ,' प्रेमले भने, 'त्यहाँ साना केटाकेटीसहित एक जना बुबा र कर्मचारी सुतेका छन् भन्ने मात्र याद भयो।'
६ जना बालक र एक जना कर्मचारीलाई उनले निकाले। त्यतिन्जेलसम्म अन्य कर्मचारीहरू पनि सघाउन आइपुगेका थिए। उक्त कोठामा केन्द्र नेपालको एक कर्मचारीसहित ८ बालक र एक पुरूष सुतेका थिए। कर्मचारी रंगाबाहेक अरू कोही व्यक्ति बोल्न, सुन्न र हिँड्न सक्दैन थिए। त्यही कारण त्यहाँ सुतेका व्यक्तिहरूलाई आफूले निद्रामै उठाएर बाहिर ल्याएको प्रेमले बताए।

प्रेम थापा (बीचमा कुर्सीमा बसेका) 'सबै जना निद्रामै थिए। हतारहतार सात जनालाई बाहिर निकाल्यौं। तीन जनालाई तान्न सकिनँ,' उनले भने, 'तीन जनालाई बिजुलीको पोल र जस्ताका पाताले थिचेको थियो।'
उनीहरूलाई तान्न नसकेपछि कर्मचारीहरूले नजिककै रहेको डोजर बोलाएर ल्याए। त्यतिन्जेलसम्म प्रहरी पनि घटनास्थलमा आइपुगेको प्रेमले बताए।
प्रहरी र डोजरको सहयोगमा उनीहरूलाई निकालेर हतारहतार मेडिकल कलेज पुर्याइयो। निकाल्दै गर्दा उनीहरूको शरीर तातै थियो। तर पनि बचाउन सकिएन।
'रगत बगिरहेको देखिए पनि अध्याँरो भएकाले कहाँ कहाँ चोट लाग्यो भन्नेकुरा थाहा पाएकै थिइनँ,' प्रेमले भने, 'अस्पताल पुर्याएपछि छाती र टाउकोमा चोट लागेको जानकारी पाएँ।'
उनले थपे, 'ढुंगा खस्यो कि भन्ने लागेको थियो टिपर रहेछ।'
टिपरको अगाडिको भाग आश्रमको टहराभित्रै पसेको थियो। चालक आफ्नै सिटमा देखेको प्रेम बताउँछन्। बा २ क ६५८० नम्बरको टिपर जोरपाटी हुँदै साँखुतर्फ जान लागेको थियो। तर निद्राका कारण अनियन्त्रित भएर टहरामा पसेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराका अनुसार उक्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीले चलाएका थिए।
'टिपर र चालक दुवै प्रहरीको नियन्त्रणमा छन्,' एसपी बोहोराले भने।
प्रहरीको प्रारम्भिक सोधपुछमा चालकले टिपर चलाउँदै गर्दा आफू निद्रामा भएकाले अनियन्त्रित भएर आश्रममा पसेको बताएका छन्।
टिपरले थिचेर उपचारको क्रममा तीनै जनाको मृत्यु भएपछि प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।
मृत्यु हुनेमा २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ वर्षीय हरिजन छन्। मृतक तीनै जनालाई विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा फेला पारेर आश्रममा आइपुगेका सञ्चालक युवराजले बताए।
उनीहरूलाई नाम पनि केन्द्रले दिएको हो। सुमनलाई २०६६ सालमा उदयपुरको चौदण्डी गाविसको जंगलबाट उद्धार गरिएको हो। उदयपुरबाट उद्धार गरिएका सुमनलाई केन्द्रीय बाल कल्याण समिति ललितपुरले आश्रममा पठाइदिएको थियो।
निराजनलाई २०८१ मंसिर १८ गते काठमाडौंको शंखरापुर नगरपालिका-८ घुमारचोकमा प्रहरी प्रभाग साँखुले फेला पारेको थियो। बोल्न, सुन्न नसक्ने उनलाई कोही खोज्न नआएपछि प्रहरीले आश्रममा पठाइदिएको युवराजले बताए।
रंगा
युवराज थापाआकाशलाई पनि २०७१ सालमा सरकारी निकायले नै पत्र गरेर आश्रममा पठाइदिएको उनले बताए।
'आकाश र सुमन आश्रममा आउँदा सानै थिए,' उनले भने, 'उनीहरू दुवैलाई कर्मचारीको रेखदेखमा हुर्काइरहेका थियौं।'
मृतक तीन जनासँग सोही कोठामा सुतेका कर्मचारी रंगा र अरू पनि पूर्ण शारीरिक अपांगता भएका व्यक्ति हुन्। उनीहरूलाई अहिलेसम्म दुर्घटना भएको भन्नेसमेत थाहा नभएको उनले बताए।
रंगा भने बोल्न र सामान्य हिँडडुल गर्न सक्छन्। उनले नै उक्त कोठामा सुत्ने ९ जनाको हेरचाह गरिरहेका थिए। बिहीबार पनि ५ बजे खाना खुवाएर, सबैलाई शौचालय लगेर ८ बजेतिर सँगै सुतेको रंगाले बताए।
'रातको दुई बजे बिउँझिएको थिएँ। त्यति बेला सबै बालकहरूलाई ओढ्ने ओढाएर सुतेको थिएँ,' रंगाले भने, 'ठूलो आवाजले आत्तिएर म पनि उठ्न सकिनँ। मलाई प्रेम दाइले उठाएर बाहिर ल्याउनुभयो।'
साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा ससाना टहरा छन्। वरिपरि जस्ताले बारिएको छ। त्यहाँ अहिले २१ बालक र ३२ युवक गरी ५३ जना शारीरिक अपांगता भएका व्यक्ति छन्। उनीहरूमध्ये १०/११ जना सामान्य बोल्न र हिँडडुल गर्न सक्ने छन्।
युवराजले २०६२ सालमा चार जना द्वन्द्व पीडितहरूलाई साहारा दिने योजनाले ६ लाख रूपैयाँमा घर भाडामा लिएर आश्रम सञ्चालन गरेका थिए। उनी एक दशकअघि साँखु सरेका हुन्।
दुई वर्षसम्म द्वन्द्व पीडितलाई मात्र आश्रममा राखेका थिए। उनीहरूलाई राख्दा राजनीतिक तथा कानुनी झमेला भएपछि सडकमा भेटिने बेवारिसे शारीरिक अपांगता भएकाहरूलाई आश्रय दिन थालेको उनले बताए।
'यस वर्ष पहिलोपटक आश्रम सञ्चालन गर्न वडाले सरकारले ६ लाख रूपैयाँ बजेट दिएको छ। यसअघि विभिन्न व्यक्तिहरूको सहयोग चलेको हो,' युवराजले भने, 'टिपर चालकको लापरबाहीले गर्दा तीन जनाको ज्यान गयो। हामी कानुनी प्रक्रियामा जान्छौं। बेवारिसे बालबालिका भए पनि संस्थाको तर्फबाट उनीहरूको न्यायका लागि लड्छौं।'