८१ वर्षीया बुद्धिमाया विक माडीको बरूवास्थित सडक छेउमा बसेर चर्खाबाट धागो निकाल्दै थिइन्। उनले यो काम सुरू गरेको करिब एक हप्तामात्रै भयो।
उनको परिवार २०६४ सालमा सुरक्षित स्थान खोज्दै बरूवा आइपुगेको थियो।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अमिलियामा बाढी र वन्यजन्तुबाट खतरा भएपछि उनीहरू बसाइँ सरेर यहाँ आइपुगेका थिए। बसाइँ सरेपछि बुद्धिमायाको वनसँगको सम्बन्ध घट्दै गयो तर टुटेको थिएन। बाख्रालाई घाँस काट्न, खाना पकाउनका लागि दाउरा खोज्न जंगल जानैपर्ने बाध्यता उनको थियो।
‘बर्खा लागेपछि रिउ खोलामा बाढी आउने समस्या छँदै थियो। जंगली हात्तीले दिनदिनै दुःख दिन्थ्यो। निकै संघर्ष गरेर अमिलियामा बसेका थियौं। बस्नै नसक्ने भएपछि गाउँ छाडेर बरुवा आइयो तैपनि जंगल नगई सुख पाइएन,’ बुद्धिमायाले भनिन्, ‘यो चर्खाले जंगल जान रोक्ला कि त।’
डार्विन इनिसिएटिभ र चेष्टर जुसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत् सञ्चालन भइरहेको ‘लिभिङ विथ लार्ज कर्निभर’ (ठूला मांसाहारीसँग सहअस्थित्व) कार्यक्रमले अमिलियाबाट बसाइँ सरेर बरुवा क्षेत्रमा आइबसेका विपन्न परिवारका ५० जना महिलालाई चर्खाबाट धागो बनाउन प्रोत्साहन गरेको छ। धागो बनाउने तालिममार्फत आयआर्जनमा सुधार ल्याउँदै मानव र वन्यजन्तुको बीचमा द्वन्द्व घटाउने उद्देश्य रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी बिसिसी) सौराहाका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंले जानकारी दिए।
तालिमप्राप्त गरेका महिलाहरूलाई चर्खा उपलब्ध गराइएको छ। उनीहरूलाई आवश्यक पर्ने उन कालिका नगरपालिकाको पदमपुरमा रहेको बिएम हस्तकला उद्योगले उपलब्ध गराएको छ। तयार भएको धागो पनि सोही उद्योगले खरिद गर्ने प्रसाईंले बताए।
‘श्रीमान बिरामी हुनुहुन्छ। काम गर्न सक्नुहुन्न। धन्न मेरा हात चलिरहेका छन् र बुढेसकालमा पनि काम गरिरहेकी छु। ५ कट्ठा जमिनमा अधियाँमा खेती गरेकी छु। २–४ वटा बाख्रा छन्। सबै काम सकेर फुर्सतमा धागो निकाल्छु,’ बुद्धिमायाले भनिन्, ‘केही आम्दानी भए नुन, तेल किन्ने पैसा निस्किन्छ।’
३८ वर्षीया सम्झना नेपालीले जंगल जाने समय उनबाट धागो निकाल्ने कामलाई दिन थालेको बताइन्। ‘अहिले एक किलो धागोको १८० रूपैयाँ दिनुभएको छ। नियमित काम गर्न सकियो भने घर खर्च निकाल्न सकिन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘जंगल जाँदा जनावरको डर हुन्थ्यो। यो काममा जोखिम छैन।’
यही कार्यक्रमअन्तर्गत् माडीका पाँचपाण्डव र अयोध्यापुरी मध्यवर्ती वनको क्षेत्रका ४ सय घरमा एलपी ग्याँस वितरण गरिएको छ। वरिष्ठ संरक्षण अधिकृत प्रसाईंले दाउरा खोज्न जंगल जानैपर्ने बाध्यता हटाउन सिलिन्डरसहित ग्याँस चुल्हो वितरण गरिएको बताए। ‘जंगल आसपास बस्ने प्रायः ले दाउरा बालेरै खाना पकाउने गर्नुहुन्थ्यो। हामीले मध्यवर्ती वन असापासका करिब एक हजार घरधुरीमा सर्वेक्षण गरेपछि ग्याँस चुल्हो वितरण गर्न सकियो भने दाउराका लागि जंगल जानेक्रम घटाउन सकिन्छ भन्ने निष्कर्ष निकाल्यौं,’ उनले भने।
पाँचपाण्डव मध्यवर्ती वनको क्षेत्रमा पर्ने पाँचपाण्डव बोटे टोलकी पार्वती बोटेले ग्याँस चुल्हो पाएपछि नियमित जंगल जान छाडेको बताइन्। ‘हरेक दिन जंगल जानै पर्ने हाम्रो बाध्यता थियो। दाउरा खोज्न हामी रिउ खोला तरेर चितवन राष्ट्रिय निकुञ्जभित्रै जान्थ्यौं। कहिले गैंडाले लखेट्थ्यो, कहिले निकुञ्ज प्रशासन, सेनाका मान्छेले लखेट्थे। अचेल पहिलेजसरी नियमित जंगल जानुपरेको छैन,’ उनले भनिन्, ‘जंगल जाने समय घर र खेतबारीमा दिन पाइएको छ। कतै काम पाइयो भने जान पनि पाइन्छ।’
अयोध्यापुरी मध्यवर्ती वनको क्षेत्रमा पर्ने परुवीकी चरिमाया प्रजाले ग्याँस चुल्होको प्रयोगलाई नियमित बनाउन आम्दानी बढ्नुपर्ने बताइन्। ‘एक पटक ग्याँस र चुल्हो दिएर भएन। यो सकिएपछि किन्ने पैसा पनि चाहिन्छ,’ उनले भनिन्, ‘हामीलाई पनि दिनदिनै डराउँदै जंगल जान रहर छैन। आम्दानीको बाटो पनि देखाइदिए हुन्थ्यो।’
उक्त मध्यवर्ती वन समितिका कोषाध्यक्ष राजकुमार पाठकले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाको आयआर्जनमा वृद्धि गरेर जीवनस्तर सुधार्न सकेमात्रै जैविक विविधताको संरक्षण हुने बताए। ‘धागो बनाउने, ग्याँस वितरण गर्ने कार्यक्रमले वनसँगको निर्भरता घटाउन राम्रै काम गरेको छ। तर यतिलेमात्रै पुग्दैन। स्थानीय बासिन्दालाई सीपमूलक तालिमहरु दिएर स्वरोजगार बनाउन सकियो भने वन जानेक्रम रोकिँदै जान्छ,’ पाठक भन्छन्, ‘मध्यवर्ती वन समितिले पनि प्रयास गरिरहेको छ। सरोकारवाला अन्य निकायको पनि सहयोग भयो भने मानव र वन्यजन्तुका बीचमा सहअस्थित्व कायम गर्दै संरक्षणलाई प्रभावकारी बनाउन सकिन्छ।’
बाख्रा जोगाउन सुरक्षित खोर
माडी–१ सिकारीपुरका धेरैजसो परिवारले बाख्रा पालेका छन्। जंगल नजिकैको बस्ती भए पनि प्रायः खोरहरू सामान्य थिए। बेला–बेलामा बाघ, चितुवा पसेर बाख्रा आइदिने समस्या बढेको थियो।
गत वर्ष ३० वर्षीय सुरज महतोको खोरमा रहेको एउटा खसी चितुवाले खाइदियो। ‘चितुवाले रातिको समयमा खोरमा पसेर खसीलाई घिसार्दै करिब २ सय मिटर पर रहेको कुलोमा पुर्याएछ। हामीले विहानमात्रै थाहा पायौं। बेच्न ठिक्क परेको ३० किलोको खसी मरेपछि सुरक्षित खोर बनाउनुपर्छ भन्ने लागेको थियो,’ उनले भने, ‘अहिले सुरक्षित खोर बनेको छ। कुनै चिन्ता छैन।’
राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत् सञ्चालन भइरहेको ‘लिभिङ विथ लार्ज कर्निभर’ कार्यक्रमको सहयोगमा सिकारीपुरमा ६० वटा सुरक्षित बाख्राका खोर बनेका छन्। एउटा खोर बनाउन १८ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंले बताए।
‘गत भदौमा खोर बन्यो। अघिल्लो महिना बिहान उठेर खोरतिर आउँदा भुइँमा चितुवाका ताजा पाइला देखें। उसले फेरि पनि बाख्रा लैजाने प्रयास गरेछ। तर सकेनछ,’ महतोले भने, ‘अब बाख्रा पालन व्यवसायलाई बढाउँदै लैजाने योजना बनाएको छु।’
सिकारीपुरकै पवित्रा महतोको घर पछाडिको बारीमा बेला–बेलामा वन्यजन्तु निर्धक्क हिँडेका देखिन्छन्। कहिले काहीँ बाघ, चितुवा, हात्ती पनि आइपुग्छन्। ‘बारीमा चितुवा हिँडिरहेको देखेपछि म त घरभित्र पसेर ढोका लगाइहालें। खोरमा रहेका बाख्राको के होला भन्ने लागेको थियो। केही गर्न सकेन,’ उनले भनिन्, ‘बेला–बेलामा आउने जंगली हात्तीले बालीमा क्षति पुर्याउने गरेको छ। यसको पनि व्यवस्थापन गर्न पाए आनन्द हुल्न्थ्यो।’
स्थानीय दिपेन्द्र महतो खसी, बोका र हाँस, कुखुरा बिक्री गरेर वर्षमा एक लाख रूपैयाँ कमाउँछन्। उनले बाख्रा पालन गर्न वन्यजन्तुको डर हट्न थालेको बताए।
पाँचपाण्डव र अयोध्यापुरी वन आसपासका क्षेत्रमा ४ सय वटा सुरक्षित बाख्राको खोर निर्माण गरिएको एनटिएनसी बिसिसीका कार्यक्रम सहायक मनोज घिमिरेले बताए। ‘यी क्षेत्रमा बाख्रा पालेर घरखर्चको जोहो गर्ने परिवार धेरै छ। कतिपयले सुरक्षित खोर नहुँदा घरभित्रै बाख्रा बाँध्थे, कोहीले त आफू सुत्ने कोठामै पनि बाख्रा राख्थे,’ घिमिरेले भने, ‘सुरक्षित खोर बनेपछि जोखिम घटेको छ।’
यसबाहेक मानव र वन्यजन्तुकाबीचमा द्वन्द्व कम गर्न युवाहरूलाई विभिन्न तालिम र समुदायमा सचेतनाका गतिविधिहरू पनि सञ्चालन गरिएको घिमिरेले बताए।
यो कार्यक्रम सन् २०२३ को अप्रिलदेखि सुरु भएको हो। चितवन निकुञ्जको मध्यवर्ती वनसँग जोडिएका माडीका गाउँहरूमा सन् २०२६ को मार्चसम्म सञ्चालन हुने कार्यक्रमको बजेट ३ करोड ४६ लाख ८९ हजार ९८५ रुपैयाँ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत प्रसाईंले जानकारी दिए। लिभिङ विथ लार्ज कर्निभर कार्यक्रम चितवन निकुञ्जसँग सीमाना जोडिएको भारतको बाल्मीकि टाइगर रिजर्भको क्षेत्रमा पनि सञ्चालन भइरहेको छ। बाल्मीकिमा चेष्टर जुमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ।
चेष्टर जुको तर्फबाट नेपाल र भारतमा चलिरहेको कार्यक्रमको फिल्ड संयोजक दिशा शर्माले सदियौंदेखि रहेको मानव र वन्यजन्तुबीचको नातालाई अनन्तकालसम्म अघि बढाउन यस्ता कार्यक्रमहरू सहयोगी बन्ने बताइन्।



