केही वर्षअघि सम्म रसायनिक मल र विषादी प्रयोग गरेर तरकारी उत्पादन गर्ने गोपिचन्द्र रिमाल अचेल यस्तो उत्पादनका विरोधी हुन्।
उनी नवलपुरको गैंडाकोट–५ वैकुण्ठ मार्गस्थित आफ्नै बारीमा टनेल निर्माण गरेर तरकारी खेती गर्थे। थोपा सिँचाइमार्फत गरिएको टमाटर खेतीमा उत्पादन राम्रै भएको थियो। यसमा उनी रसायनिक मल र विषादीको पनि प्रयोग गर्थे।
जब रसायनिक विषादीको प्रयोग गरिएको तरकारीले उपभोक्तालाई असर गर्छ, विष छर्ने व्यक्तिलाई अनि वातावरणलाई पनि असर गर्छ भन्ने थाहा पाए उनले विकल्प खोज्ने निधो गरे। त्यहीक्रममा उनको नजर गँड्यौला पालनमा परेको थियो।
चितवनमा केही व्यक्तिले गँड्यौला पालेर मल बनाइरहेका थिए। ‘मैले धेरैतिर पुगेर गँड्यौला पाल्ने तरिका, यसबाट हुने फाइदाको विषयमा जानकारी लिएँ। रसायनिक मलको विकल्प यो बन्न सक्छ भन्ने लाग्यो,’ रिमालले भने।
त्यसपछि उनले भरतपुरस्थित कृषि कार्यालयमा पुगेर त्यहाँका कर्मचारीलाई एउटा प्रश्न गरेछन्–गँड्यौला पालेर डुबेका कोही किसान देख्नुभएको छ?
जवाफ आएछ – छैन।
चार वर्षअघि यही जवाफको आधारमा उनी गँड्यौला खोज्दै पोखरा पुगेका थिए। त्यहाँबाट ‘आइसेनिया फेटिडा’ जातको गँड्यौला २ किलो गँड्यौला (प्रतिकिलो २५ सय रुपैयाँका दरले) किनेर ल्याए। स्थानीय किसानसँग गोबर किने। अनि टमाटर खेतीका लागि बनाएको टनेलभित्र गँड्यौला पाल्न सुरु गरे।
रिमालले डेढ कट्ठा जमिनको टनेलभित्र ड्याङ् बनाएर पालिएका विभिन्न चरणका गँड्यौलाहरू पालेका छन्। गँड्यौला र गँड्यौले मललाई प्याकिङ गरि ब्राण्ड बनाएर बिक्री गरिरहेका छन्। ‘साढे २७ रुपैयाँ किलोमा मल बिक्री गर्ने गरेको छु। एग्रोभेटहरूले मल किन्छन्। केही किसान घर आएर पनि किन्छन्,’ रिमालले भने, ‘अर्डर आयो भने घरमै पुर्याइदिने सुविधा पनि छ।’
रिमालको फार्म ‘खुसी तरकारी तथा गँड्यौले मल’ बाट सिक्नेहरू पनि बढिरहेका छन्। गैंडाकोट नगरपालिकामा मात्रै २० जनाभन्दा बढीले उनीबाट सिकेर गँड्यौले मल बनाइरहेका छन्। ‘मान्छेहरू सिक्न आए भने मलाई रमाइलो लाग्छ। म सबै कुरा सिकाएर पठाइदिन्छु। नयाँ व्यवसाय सञ्चालन गर्न खोज्नेलाई घरमै पुगेर पनि सिकाउने गरेको छु। आर्थिक स्थिती नाजुक छ तर रुचि छ भनेर आउनेलाई एक–दुई किलो गँड्यौला सित्तैमा दिएको छु,’ उनी भन्छन्, ‘विद्यालयहरू गएर बालबालिकालाई गड्यौंले मलको बारेमा जानकारी गराउने, बनाउने तरिका सिकाउने पनि गर्छु।’
उनीबाट सिकेर गैंडाकोट इङलिस स्कुलका विद्यार्थीहरूले स्कुलको भान्साबाट निस्कने फोहोरबाट प्रांगारिक मल बनाएका छन्। उनीहरूले गँड्यौले मल बनाएर बिक्री पनि गरेका थिए। अचेल उत्पादन भएको मल स्कुलकै बगैंचामा प्रयोग गर्छन्। उक्त विद्यालयका सह–प्रधानाध्यापक नवराज कँडेलले सुरुआतमा रिमालसँग सहयोग लिएर विद्यार्थीहरूलाई गँड्यौले मल बनाउन सिकाएको बताए। ‘अहिले कृषि विज्ञ नै राखेर विद्यार्थी र समुदायलाई प्रांगारिक मलसम्बन्धी तालिमहरू दिइएको छ,’ उनले भने, ‘हामीले अहिले गाईको गोबर मल, गँड्यौले मल र भान्साबाट निस्किएको कुहिने फोहोरबाट बनेको मलको विषयमा अनुसन्धान गरिरहेका छौं।’
-1739938204.jpg)
रिमालको इच्छा गँड्यौलाबाट माछाको आहारा तयार गर्ने छ। अहिले नेपालमा चीनबाट माछाका लागि गँड्यौलाबाट बनेको प्रोटिनयुक्त आहारा आउने गरेको छ। सानो बट्टामा आउने यो आहाराको २० ग्रामकै ४ सय रुपैयाँ पर्छ। रिमालले त्यस्तो आहारा बनाउने प्रयास यहीँ गरेका थिए। तर चीनबाट आउनेजस्तो बनाउन नसकेको उनले बताए।
‘मैले चाहेरमात्रै गर्न सकिनँ। नेपालमा किसानहरू सरकारको प्राथमिकतामा पर्दैनन्। मैले गँड्यौलाबाट माछाको आहारा बनाउन धेरै प्रयास गर्दै आएको छु। तर चीनबाट आएको जस्तो बनाउन सकेको छैन। मन्त्रालयमा पहुँच छैन। यताका कार्यालय सकिँदैन भन्छन्,’ रिमालले भने, ‘सरकारले सहयोग गरिदियो भने धेरै पैसा विदेश जानबाट रोक्न सकिन्थ्यो।’
प्रांगारिक मलले बजार नपाउँदा पनि समस्या भइरहेको उनले बताए। ठूला किसानहरूले रसायनिक मल र विषादीकै प्रयोग गर्ने गरेको र सरकारले उनीहरूलाई त्यसतर्फ निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नसकेको रिमाल बताउँछन्। ‘मैले उत्पादन गरेको मल किन्ने साना किसान र कौशी खेती गर्नेहरूले मात्रै हो,’ उनी भन्छन्, ‘बजार बनाउन सरकारको सहयोग चाहिन्छ। रसायनिक मलले माटोको उर्वरा शक्तिलाई घटाइरहेको छ। जमिनलाई सुख्खा बनाएको छ। गँड्यौला मल र जैविक विषादी विकल्प बन्न सक्छ।’
सरकारले किसानलाई तालिम दिने, कृषिजन्य सामग्री, उपकरणको खरिदमा छुट र बजारको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्।
रिमाल आफ्नो फार्ममा भान्साबाट निस्किएको फोहोर र ११ प्रकारका जडिबुटीहरूको प्रयोग गरेर जैविक विषादी उत्पादन गर्छन्।
आफैले उत्पादन गरेको मल र विषादी प्रयोग गरेर बारीको कुनातिर बोरामा आलु, प्याज, लसुन, खुर्सानी, काउली, स्ट्रबेरी लगाएका छन्। घरको छतमा पनि विभिन्न तरकारी र स्ट्रबेरी खेती गरेका छन्। उनले भान्साबाट निस्कने कुहिने मलमात्रै प्रयोग गरेर पनि कौशी खेतीका लागि पर्याप्त मल तयार गर्न सकिने बताए।
‘यो व्यवसायबाट धेरै कमाउन त सकेको छैन। घर खर्च चलाउन समस्या छैन। राम्रो बजार भए ठूलो उत्पादन गर्न सकिन्थ्यो। त्यहीअनुसार कमाइ पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘म यती गर्न सकेकोमा पनि सन्तुष्ट छु।’
-1739938201.jpg)
-1739938197.jpg)
-1739938197.jpg)