चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रका चार वटा एकसिंगे गैंडालाई पूर्वी क्षेत्रमा लगेर छाडिएको छ। योसँगै मंगलबार गैंडाको आन्तरिक स्थानान्तरणको काम सकियो।
सरकारले बनाएको एक कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा नीतिगत निर्णय गरेर गत वर्ष चैतदेखि गैंडाको आन्तरिक स्थानान्तरण थालिएको थियो। नवलपुरको अमलटारी र लौखानी क्षेत्रबाट तीन पोथी र एक भाले गैंडालाई डार्ट (बेहोस बनाउने औषधि दिने) गरी खोरमा हालेर चितवनको खगेन्द्रमल्ली पोस्टनजिकै, राप्ती नदीको किनारमा पुर्याएर छाडिएको थियो।
नेपालमा चितवन मुख्य बासस्थान भएका गैंडाहरूलाई विभिन्न देश पठाएको इतिहास छ। देशभित्रै पनि बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको थियो। नेपाल र भारतमा मात्रै पाइने दुर्लभ एकसिंगे गैंडा चितवन निकुञ्जबाट एक सयभन्दा बढी देशका विभिन्न स्थानमा र २६ वटा अन्य देशमा पुगेका छन्। तर एउटै निकुञ्जभित्र एउटा क्षेत्रका गैंडालाई अर्कोतिर सार्ने चलन थिएन।
जलवायुजन्य जोखिमबाट जोगाउने, बाढीबाट हुन सक्ने क्षतिबाट जोगाउने, मान्छेसँगको द्वन्द्व कम गर्ने, आनुवांशिक विविधता कायम गर्ने लगायतका उद्देश्यले आन्तरिक स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताए।
विगतमा निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको घनत्व बढी रहेकामा पछि पश्चिम क्षेत्रमा बढ्दै गएको थियो। राप्ती र नारायणीको बाढीमा फसेर पूर्वका धेरै गैंडा पश्चिमतर्फ पुगेका थिए। कतिपय गैंडा उचित वासस्थानको खोजी गर्दै पूर्वबाट पश्चिमतर्फ पुगेको हुन सक्ने पन्तले बताए।
'सन् २०१७ मा बाढीमा बगेर भारत पुगेका केही गैंडा फर्काएर निकुञ्ज ल्याइयो। अबका दिनमा पनि ठूलो बाढी आउँदा धेरै क्षति हुन सक्छ। धेरै तल पुगेपछि पहिले जसरी ल्याउन नसकिन पनि सक्छ,' पन्तले भने, 'हामीले बेलैमा उनीहरूको सही व्यवस्थापन गर्न सकेनौं भने पछि गाह्रो हुन्छ।'
एकै ठाउँमा धेरै गैंडा हुँदा आपसी द्वन्द्व बढ्ने खतरा हुन्छ। गैंडाको संख्या एउटै क्षेत्रमा धेरै हुँदा मानवबस्तीमा पसेर दुःख दिने सम्भावना पनि उत्तिकै रहन्छ।
'यसो हुँदा मान्छे र गैंडा दुवै असुरक्षित हुने भए। धेरै भएको ठाउँबाट थोरै भएको ठाउँमा सारियो भने जंगल बाहिर निस्किने खतरा कम हुन्छ,' उनले भने, 'यसो गर्दा निकुञ्जको सबै क्षेत्रको अधिकतम उपयोग पनि हुन्छ।'
गैंडामा आनुवांशिक विविधता कायम गर्नु आन्तरिक स्थानान्तरणको मुख्य उद्देश्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलजिस्ट हरिभद्र आचार्य बताउँछन्। त्यसैले स्थानान्तरण गर्दा वयस्क र प्रजनन योग्य गैंडा रोजिएको छ। पूर्व र पश्चिमका गैंडाको अन्तरक्रिया बढाउने उद्देश्य रहेको उनले बताए।
'जलवायु परिवर्तनको असर बढिरहेको छ। एकै क्षेत्रमा धेरै गैंडा केन्द्रित हुँदा जलवायु परिवर्तन वा कुनै रोगका कारण मृत्यु हुने अवस्था आए अस्तित्व नै सकिने खतरा हुन्छ। त्यसैले सबै क्षेत्रमा उपस्थिति बनाउनुपर्छ,' आचार्यले भने।
गैंडाका लागि तल्लो क्षेत्र संकुचित बन्दै गएको उनले बताए। एक अध्ययनले चितवन निकुञ्जमा करिब दुई सय वटा गैंडा जंगल बाहिर निस्किने गरेको देखाएको छ।
'जंगल बाहिर निस्किएर मान्छे र कृषि बालीमा क्षति पुर्याउने, पश्चिम क्षेत्रबाट सहजै सिमाना पार गर्न सक्ने तर फर्काउन असहज हुने भएकाले आन्तरिक स्थानान्तरण गर्नुपरेको हो,' उनले भने।
चितवन निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार पछिल्लो पटक पश्चिमबाट पूर्वमा बास सारिएका चार वटा गैंडाको शरीरमा 'रेडियो कलर' जोडिएको छ। यसको माध्यमबाट ती गैंडा कुन ठाउँमा छन् भनेर अध्ययन गर्न सकिन्छ।
मगरका अनुसार गत वर्ष छाडिएका ६ वटा गैंडामा भने रेडियो कलर जोडिएको छैन। ती गैंडाको अनुगमन उनीहरूको 'इन्डिभिजुअल आइडी' (हरेक गैंडाको आफ्नै पहिचान) का आधारमा कर्मचारीले स्थलगत रूपमा वा हात्तीको माध्यमबाट गर्नुपर्छ। निकुञ्जसँग अहिले रहेको स्रोत, साधन र जनशक्तिका क्षमताले अनुगमन गर्न सहज छैन। तैपनि बेला बेलामा अनुगमन भइरहेको र सबै गैंडा पूर्वी क्षेत्रमै रहेको पाइएको छ।
प्रमुख संरक्षण अधिकृत पन्तले स्थानान्तरणसँगै व्यवस्थापन र अनुसन्धानलाई पनि सँगै लगिने बताए। अनुसन्धानबाट आएको नतिजाको आधारमा आगामी दिनका काम गर्ने उनी बताउँछन्।
'हामीले भविष्यमा गैंडाको दिगो व्यवस्थापनका लागि के आवश्यक छ भनेर पत्ता लगाउनुपर्ने छ। अनुसन्धानका नतिजाको अध्ययन र विश्लेषणमार्फत भविष्यका कदम अघि बढाउन सहयोग पुग्छ। यसले गैंडाको दिगो संरक्षणमा सहयोग गर्छ,' उनले भने।
स्थानान्तरण गरिएका गैंडा जोगाउने चुनौती पनि निकुञ्जसामु छ। चोरी, सिकारी, पूर्वी क्षेत्रमा बढ्दो पर्यटन गतिविधि, घट्दै गएको घाँसेमैदान तथा सिमसार क्षेत्र मुख्य चुनौती हुन्। निकुञ्जले प्राप्त स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर भएका घाँसेमैदानको व्यवस्थापन, नयाँ घाँसेमैदान निर्माण, सिमसार तथा घोलहरू संरक्षणका काम गरिरहेको पन्तले बताए।
निकुञ्जभित्र घाँसेमैदान गुणात्मक र क्षेत्रगत हिसाबमा घट्दै गएको छ। सन् १९७० को दशकमा २० प्रतिशत घाँसेमैदान थियो। अहिले करिब १० प्रतिशत छ। नियमित व्यवस्थापन गर्न हरेक वर्ष कम्तीमा १० हजार हेक्टर घाँसेमैदान व्यवस्थापन गर्नुपर्छ।
'तर हामीलाई पाँच सय हेक्टरका लागि मात्रै स्रोत सुनिश्चित छ,' उनले भने, 'गैंडालाई आहाल खेल्ने पोखरी, पानी खाने सिमसार पर्याप्त चाहिन्छ। त्यसको व्यवस्थापनका लागि पर्याप्त स्रोत छैन। जति छ त्यतिले गरिरहेका छौं।'
चोरी, सिकारी नियन्त्रणमा निकुञ्ज कार्यालय र नेपाली सेनाले नियमित गस्ती तथा पेट्रोलिङ गरिरहेको पनि प्रमुख संरक्षण अधिकृत पन्तले बताए।
सन् २०२१ मा गरिएको गणनामा नेपालका विभिन्न निकुञ्जमा ७ सय ५२ वटा एकसिंगे गैंडा भेटिएका थिए। चितवन निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैंडा गणना भएका थिए।