टनेलभित्र थुपारिएको गोबर खोस्रिरहेका थिए ६३ वर्षीय गोपीचन्द्र रिमाल।
उनले थुप्रोभित्रबाट बायाँ हातले गोबर निकाले, दायाँले त्यो गोबरलाई ओल्टाइ-पल्टाइ गरे।
अनि हामीलाई देखाउँदै भने, 'यहाँ हेर्नुस् त गँड्यौलाका बच्चाहरू। अनि यी दुई छन् नि, ती चाहिँ अहिले प्रजननमा सक्रिय छन्। यी साना अण्डा हुन्।'
उनले करिब डेढ कट्ठा जमिनको टनेलभित्र ड्याङ बनाएर पालिएका विभिन्न चरणका गँड्यौलाहरू देखाए। पाँच वर्षअघि पोखराबाट किनेर ल्याएका २ किलो गँड्यौलाबाट जन्मिएका नयाँ बच्चाहरू सयौं किलो भइसकेका रहेछन्।
५१ वर्षीया श्रीमती भोजकुमारी पौडेललाई अचेल गँड्यौला हेर्ने फुर्सद छैन। उनी अचेल सात महिनाअघि जन्मिएका जुम्ल्याहा छोरीहरूको स्याहारमा व्यस्त छिन्।
गँड्यौलाका बच्चा जन्माउँदै बेच्ने कामलाई व्यवसाय बनाउँदै आएको यो दम्पतीले आफ्नै सन्तान जन्माउन भने बुढेसकाल नै कुर्नुपर्यो। बच्चा जन्माउन नसकेकोमा धेरै अपमान झेल्नुपर्यो।
२०६० सालमा बिहे गरेका उनीहरू सन्तान प्राप्तिका लागि चितवन र काठमाडौंका सबैजसो ठूला अस्पतालहरू पुगे। नाम चलेका धेरै डाक्टरहरूलाई भेटे। उनीहरूले सिफारिस गरेका औषधिहरू खाए। तर सन्तान प्राप्तिको उनीहरूको चाहना पूरा हुन सकेन।
डाक्टरबाट नभएपछि उनीहरू धामी, झाँक्रीको शरणमा पुगे। धामी, झाँक्रीलाई समस्या देखाउन देशका विभिन्न ठाउँमा पुगे। यसबाट पनि पार लाग्ने कुरा भएन। धेरैतिर धाउँदा पनि प्रगति नभएपछि उनीहरूलाई लाग्यो अब हाम्रो पीडा भगवानबाहेक कसैले बुझ्दैनन्। त्यसपछि उनीहरू मन्दिरतिर लागे।
'हामी नपुगेको कुनै मन्दिर छैनन् होला। अरू कसैले नसकेको भगवानले सक्लान् भनेर दिनदिनै मन्दिर धाइयो। प्रार्थना गरियो। तर हाम्रो बिन्ती भगवानले पनि सुनेनन्,' भोजकुमारीले भनिन्।
विवाहको १९ वर्ष पुग्दा उनीहरूले सन्तानको आशा मारिसकेका थिए। एक दिन मोबाइलमा सामाजिक सञ्जाल हेरिरहँदा गोपीचन्द्रले भरतपुरमा रहेको शिशु फर्टिलिटी क्लिनिक बारेको एउटा भिडिओ भेटाए। क्लिक गरेर हेर्दा भिडिओले निःसन्तान दम्पतीका लागि अवसरका कुराहरू सुनायो। उनले यो भिडिओ श्रीमतीलाई देखाए।
'भिडिओमा भनिएका कुराबाट धेरै आशा राखेका त थिएनौं। तै पनि केही चमत्कार भइहाल्छ कि भन्ने लागेर हामी त्यहाँ पुग्यौं। भरतपुर पुगेर त्यहाँका डाक्टरहरूलाई हुन्छ भने हुन्छ भन्नुहोला, हुन्न भने सिधै हुन्न भन्नुहोला। हामी धेरै थाकेका मान्छे हौं। हुन्न भने धेरै दुःख नदिनुहोला भन्यौं,' रिमालले भने, 'उहाँहरूले प्रयास गरौं भन्नुभयो। अन्तिम पटक भनेर हामी फेरि तयार भयौं।'
त्यतिखेर गोपीचन्द्र ६२ र भोजकुमारी ५० वर्ष पुगिसकेका थिए। भोजकुमारीको महिनावारी रोकिएको ३ वर्ष भइसकेको थियो। दुवै थाइरोइडका बिरामी थिए।
डाक्टरहरूले उनीहरूलाई नियमित परामर्श दिए। सन्तान जन्माउन विश्वमा आएका नयाँ प्रविधिहरूको बारेमा जानकारी गराए।
'आइभिएफ प्रविधिबारे कुरा सुन्दा सुरूमा हामीलाई संकोच लागेको थियो। यसरी जन्मिएको बच्चालाई समाजले नस्वीकार्ने पो हो कि भन्ने लागेको थियो। अन्ततः हामी यसका लागि तयार भयौं,' रिमालले भने, 'हामीसँग अरू विकल्प थिएन। उमेरले गर्दा पनि धेरै समय कुर्न मिल्ने थिएन। अब ढिला भयो भने बच्चा हुर्काउन पनि सकिँदैन भनेर तत्काल प्रक्रिया सुरू गर्ने निर्णय लिइहाल्यौं।'
त्यतिखेर चितवनमा यो प्रविधिको प्रयोग गर्न थालिएको थिएन। शिशु फर्टिलिटीले काठमाडौंस्थित वात्सल्य नेचुरल आइभिएफसँग सहकार्य गर्थ्यो। यो दम्पतीलाई पनि वात्सल्य पठाइयो। अन्ततः गत जेठमा रिमाल दम्पतीका दुई छोरीको जन्म भयो।
'मान्छेहरू अनेक कुरा गर्थे। नजिकका इष्टमित्र, आफ्नै समाजले नै कुरा काट्थे। हाम्रो जीवनमा नैराश्यता छाएको थियो। ढिलै भए पनि हाम्रो परिवारले वारिस पाएको छ। हामी बुढाबुढी असाध्यै खुसी छौं,' रिमाल भन्छन्।
पहिले सन्तान जन्माउन नसकेको भनेर अपमान गर्नेहरू अचेल अचम्म मान्दै गफ गर्न आउने गरेको उनले सुनाए।
'यस्तो पनि हुँदो रहेछ, कसरी भयो भन्छन्। हामी सबै कुरा खुलेर बताउँछौं,' उनले भने।
भोजकुमारीले भगवान खोज्न धेरै मन्दिरहरू धाए पनि वास्तविक भगवान अस्पतालमा भेटेको सुनाइन्।
'जीवनदेखि नै हरेश खाएका हामीलाई दुई सन्तानसहितको जीवनदान दिने डाक्टरहरू भगवान हुनुहुन्छ। हाम्रो लागि भगवान डा. सुजन र डा. सुमी बन्नुभयो,' उनी भन्छिन्, 'भगवान खोज्न मन्दिर जान पर्दोरहेनछ। भगवान डाक्टरहरू रहेछन्।'
भोजकुमारी समाजमा अझै पनि आइभिएफको विषयमा नकारात्मक धारणा रहेको बताउँछिन्।
चेतनाको कमीले गर्दा धेरैले अझै पनि यसको विषयमा थाहा नपाएको उनले बताइन्।
'नेपालमा बाँझोपन भएका आमाहरू धेरै हुनुहुन्छ। उहाँहरू उपचारबाट बञ्चित हुन हुँदैन। प्रयास गरे हुँदो रहेछ, मेरो सफल भयो भने सबैको हुन्छ। नथाकिकन प्रयास गर्नुपर्ने रहेछ,' उनले भनिन्, 'सुइबाट जन्मिएको बच्चा भन्छन्। अनेक कुरा गर्नेहरू अहिले पनि भेटिन्छन्। यस विषयमा स्वास्थ्यकर्मीले बुझाइदिनुपर्छ।'
स्त्री तथा प्रसूति रोग विषशेज्ञ डा. सुजन भुषालले बाँझोपनको समस्या लिएर प्रायः महिलाहरू अस्पताल आउने गरेको बताइन्। निःसन्तान हुनुमा महिला, पुरूष दुबैको कमजोरी हुनसक्ने भए पनि महिलालाई नै दोष लगाउने चलन रहेको उनले बताइन्।
'परीक्षणबाट के कमजोरीका कारण निःसन्तान भएको हो थाहा पाउन सकिन्छ। त्यसपछि आवश्यकता अनुसारको विकल्पमा जानुपर्छ,' उनी भन्छिन्, 'नयाँ प्रविधिको विषयमा समाजमा अझै पनि धेरै भ्रमहरू छन्। त्यसलाई चिर्दै जानुपर्छ।'
रिजाल दम्पती अचेल निःसन्तान दम्पतीलाई आफूले गरेका संघर्षदेखि अहिले पाइरहेको सन्तान सुखको कथा सुनाउँछन्। सन्तान भएन भनेर नआत्तिन सम्झाउँछन्। समय मिल्दा सामाजिक सञ्जालबाट पनि जानेका कुराहरू बाँड्छन्।
उनीहरूले यो प्रक्रियामा करिब १० लाख रूपैयाँ खर्च गरे। यो खर्चमा गँड्यौला पालन व्यवसायले ठूलो सहयोग गरेको रिमालले बताए।
कुखुराको दाना व्यवसायमा नोक्सानी बेहोर्नुपरेपछि रिमाल तरकारी खेतीमा लागेका थिए। उनले करिब ६ वर्षअघि गैंडाकोट–५ वैकुण्ठ मार्गस्थित घर छेउको खाली जमिनमा टनेल निर्माण गरेर गोलभेँडा खेती सुरू गरेका थिए। थोपा सिँचाइमार्फत गरिएको खेतीमा उत्पादन राम्रै भएको थियो।
तर रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गर्न खोज्दा सकेनन्। विष प्रयोग गरिएको तरकारीले उपभोक्तालाई असर गर्ने, विष छर्ने व्यक्तिलाई पनि असर गर्ने, वातावरणलाई पनि असर गर्ने देखेपछि उनले विकल्प खोज्ने निधो गरे। त्यही क्रममा उनको नजर गँड्यौला पालनमा परेको थियो।
'मैले रासायनिक विषादीको प्रयोग गरेर गोलभेँडा खेती गरेको जमिनमा पछि आफैले जैविक विषादी बनाएर हाल्दा उत्पादन राम्रो भएन। बोटबिरूवालाई जरैबाट अग्र्यानिक बनाउन केही गर्नुपर्छ भनेर सोच्दै जाँदा गँड्यौला पालन राम्रो विकल्प देखेँ। त्यसैलाई अघि बढाएँ। अहिले राम्रै भइरहेको छ,' रिमालले भने, 'अहिले यही व्यवसायले घर चलिरहेको छ। म गँड्यौला स्याहार्छु, श्रीमती छोरीहरू स्याहार्छिन्। जीवनमा खुसी फर्किएको छ।'