संरक्षणका लागि धेरै लगानी गरिएको क्षेत्रमै चरा देखिन छाडेका छन्। सन् २०२५ जनवरी पहिलो र दोस्रो हप्ता चितवन राष्ट्रिय निकुञ्जसहित आसपासका सिमसार क्षेत्रमा गरिएको पन्छी गणनामा संरक्षणका लागि लगानी बढी गरिएकै क्षेत्रमा चरा कम देखिएको हो।
नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरीले चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ताल तथा सिमसारमा चरा असाध्यै कम देखिएको बताए।
यस वर्ष संघको नेतृत्वमा देशभरका प्रमुख नदी, ताल तथा सिमसार क्षेत्रमा चराको गणना भइरहेको छ। चितवनमा जनवरी ६ देखि १३ सम्म गणना गरिएको थियो। चौधरीले निकुञ्जभित्रका राप्ती र रिउ नदीमा चराको उपस्थिति सन्तोषजनक रहेको बताए।
'निकुञ्जभित्र रहेका ताल तथा सिमसार क्षेत्रमा चरा नगन्य देखियो। यति थोरै चरा देखिएलान् भन्ने हामीले कल्पना पनि गरेका थिएनौं,' चौधरीले भने, 'निकुञ्जभित्र सिमसार क्षेत्र ह्रास हुँदै गएको छ। ताल सुक्दै गएका, छोपिएका छन्। चराहरूले रूचाउने वनस्पति, फूल पनि घटेको देखिन्छ। खानाको खोजीमा टाढाबाट आएका चराले उपयुक्त बासस्थान र खाना नपाउँदा उक्त क्षेत्र नरूचाएको हुनसक्छ।'
निकुञ्जभित्रका देवी ताल, लामी ताल, राप्ती घोल, मुण्डा ताल, टेम्पल घोल, नन्दभाउजू ताल तथा अन्य सिमसारमा निकुञ्जका प्रतिनिधिसहितको चरा गणनाको टोली पुगेको थियो। सोक्रममा निकुञ्जभित्रको सबभन्दा ठूलो मानिने देवी तालमा दुइटा मात्रै पानीमा आश्रित चरा (ग्रे ह्यारोन–फुस्रो बकुल्ला) भेटिएका थिए।
गणनामा सहभागी घटगाईं–मेघौली नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बुका अनुसार धेरैजसो ताल सुकिसकेका छन्। नन्दभाउजू ताल भन्नु मात्रैको भएको छ। पानी नै देखिँदैन। देवी तालमा पानी त छ तर तालमारा झारले सर्लक्कै छोपेको छ।
'निकुञ्जभित्रका तालहरूमा चराको बासस्थान नै बिग्रिएको छ,' उनले भने।
जैविक विविधता संरक्षणकै लागि भनेर रामसार क्षेत्रमा सूचीकृत क्षेत्रमा पनि चराको संख्या घटिरहेको छ। रामसार क्षेत्रमा सूचीकृत बीसहजारी ताल कुनै समय चराका लागि स्वर्ग मानिन्थ्यो। यहाँ चरा हेर्नकै लागि धेरै पर्यटक पुग्थे। तर अहिले बसाइ सरेर आउने चराले बीसहजारी ताल रोज्न छाडेका छन्।
यसपालिको गणनामा यो तालमा तीन प्रजातिका चरा मात्रै देखिएको पूर्वी चितवनको चरा गणना कार्यक्रमका संयोजक रहेका चरा विज्ञ बासु बिडारीले बताए।
'बीसहजारी तालमा अचेल बसाइ सरेर आउने चरा मात्रै होइन, रैथाने चरा पनि कम देखिन्छन्। आसपासका अन्य तालको अवस्था पनि खराब बन्दै गएको छ,' बिडारीले भने, 'हामीलाई त रामसार क्षेत्र भन्न पनि लाज भइरहेको छ।'
बिडारीले बीसहजारी ताल नजिकै रहेका बाटुली पोखरी, चेपाङ तालहरूमा पनि चराको संख्या घटेको बताए। बाटुली पोखरीमा विगतका गणनामा डेड सय बढी देखिने सिमकुखुरा यसपालि केही संख्यामा मात्रै देखिए। अन्य चरा पनि एकदमै कम देखिएको उनले बताए।
'कुमाल ताल अहिलेसम्म बचेको छ। मलार्ड, गडवाल, स्नाइप लगायत केही प्रजातिका चराहरू यहाँ अझै पनि देखिन्छन्। बीसहजारी तालको बिजोग भइसक्यो। अहिलेको अवस्थामा सुधार नभए केही वर्षमा बाटुली पोखरी पनि बीसहजारी जस्तै बन्ने देखिन्छ,' उनले भने।
बाटुली पोखरीमा पर्यटकका लागि डुंगा चलाउने गरिन्छ। बीसहजारीमा पनि मान्छेहरूको चहलपहल बढ्दो छ। यी क्षेत्रमा फोहोरको व्यवस्थापन राम्रो छैन। आकर्षक देखाउन मेसिन लगाएर ताल सफा गरिन्छ। यसले पानीमा प्रदूषण बढेको अनुमान विज्ञहरूले गरेका छन्। होहल्ला र प्रदूषणले चराको बासस्थान गुमेको अनुमान बिडारीको छ।
'यस विषयमा वैज्ञानिक अध्ययन नै आवश्यक छ। विगतमा सयौं चरा आउने क्षेत्रमा अचेल किन आइरहेका छैनन् भनेर एउटा अध्ययन त गर्नुपर्यो नि,' बिडारीले भने, 'अध्ययनबाट खास कुरो पत्ता लगाएर संरक्षणमा लाग्नु आवश्यक छ।'
राप्ती नदीमा भने रूडी सेलडक (चखेवा) को संख्या उत्साहजनक देखिएको उनले बताए। दक्षिण युरोप, मंगोलिया, पश्चिम चीनका प्रजनन गर्ने चखेवाहरू नोभेम्बरमा बसाइँ सरेर दक्षिणतर्फ आउँछन्। उनीहरू मार्चतिर फेरि मुख्य बासस्थानमै फर्किन्छन्।
'यसपालि हामीले राप्तीमा सौराहाघाटदेखि कसराघाटसम्म १३ सय बढी चखेवा गन्यौं। यो संख्या उत्साहजनक हो। गत वर्षभन्दा पनि धेरै हो,' बिडारीले भने, 'यो क्षेत्र शान्त छ। त्यसैले चराहरूले बासस्थानका रूपमा अपनाएका छन्।'
पूर्वी चितवन क्षेत्रमा गरिएको गणनामा कर्मरेन्ट (जलेवा) को संख्या पनि बढेको देखिएको उनले बताए।
सो क्षेत्रमा यस वर्ष ५५ प्रजातिका चरा रेकर्ड भए। तीमध्ये २ प्रजाति (ब्ल्याक हेडेड गल–कालो टाउके गंगाचिल र पलास गल–राज गंगाचिल) गत वर्ष देखिएका थिएनन्।
चरा गणनामा राप्तीको कसराघाट भन्दा तल, भरतपुर महानगरपालिका र माडी क्षेत्रलाई मध्य चितवन मानिएको थियो। यो क्षेत्रको गणनाका संयोजक मनेष लिम्बुले राप्तीदेखि गोलाघाटसम्म ४७ प्रजातिका जलपन्छी भेटिएको बताए। पानीमा आश्रित बाहेकका ३० प्रजाति चरा पनि यो गणनामा भेटिएको उनले जानकारी दिए।
'हामीले यसपालि राप्तीमा डुबुल्की चरा, सिउरे डुबुल्की चरा, कृष्णकण्ठ गरूड, सिमकुखुरा र बाँके बकुल्ला पनि भेट्यौं। यी गत वर्षको गणनामा भेटिएका थिएनन्। गत वर्ष भेटिएका लालठूँडे चखेवा, कैलोटाउके हाँस, सिन्दुरे हाँस, सुइरोपुच्छ्रे हाँस, वस्तु बकुल्ला, लामाऔंले र ठूलो माठीकोरे यस वर्ष देखिएन,' लिम्बुले भने।
कसरादेखि गोलाघाटसम्म चराको संख्या गत वर्षभन्दा कम देखिएको उनले बताए। यो क्षेत्रमा यसपालि नेपालमा खडखडे हाँस भनिने गडवाल चरा अघिल्लो वर्षभन्दा दोब्बर बढी देखिएको लिम्बुले बताए।
रिउ नदीमा गरिएको गणनामा यस वर्ष ४७ प्रजाति जलपन्छी रेकर्ड भएका छन्। गत वर्ष ४५ प्रजाति रेकर्ड भएका थिए। यसपालि गत वर्ष नदेखिएका छोटाखुट्टे बकुल्ला र फुस्रो टिकटिके रेकर्ड भएको लिम्बुले बताए। यो नदी आसपासमा यसपालि ५७ प्रजातिका अन्य चरा (पानीबाहिर बस्ने) देखिएका थिए।
'रिउ नदीमा चराको अवस्था विगत केही वर्षको जस्तै छ। माडी क्षेत्रमा मानवीय चहलपहल बढी भए पनि तल्लो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले शान्त छ,' लिम्बुले भने, 'उपल्लो तटीय क्षेत्रबाट फोहोर बगेर आउन नदिने हो भने रिउ चराका लागि राम्रो बासस्थानका रूपमा रहिरहन सक्छ।'
भरतपुर महानगरपालिका-२६ स्थित दिव्यनगर फार्मल्यान्ड चराहरूको रोजाइको क्षेत्र हो। यहाँ धानखेत र सिमसार छ। यो वर्ष यस क्षेत्रमा गरिएको गणनामा ३४ प्रजातिका पानी चरा रेकर्ड भएको गणनामा सहभागी चरा विज्ञ हठन चौधरीले बताए।
'गत वर्ष ३२ प्रजातिका पानी चरा रेकर्ड भएका थिए। यसपालि हामीले ल्यान्ड बर्डका ४६ प्रजाति पनि भेट्यौं,' उनले भने, 'चराको संख्या पनि गत वर्षभन्दा यसपालि अत्यधिक देखियो।'
गत वर्ष गणना गर्दा १९८ वटा मात्रै बार–हेडेड गुज (खोया हाँस) रेकर्ड गरिएको यो क्षेत्रमा यस वर्ष उही समयमा ८४२ वटा रेकर्ड गरिएको थियो। खोया हाँस सबभन्दा उचाइमा उड्ने चराको सूचीमा दोस्रो नम्बरमा पर्छ। उनीहरू समुद्र सतहदेखि ११ हजार मिटर उचाइमा उडेर यहाँ आइपुग्छन्।
चखेवाचखेवी ७९३ वटा रेकर्ड गरिएको थियो। जबकि अघिल्लो वर्ष सोही समयमा यहाँ ५३ वटा मात्रै यी चरा देखिएका थिए। विगतका हिउँदमा कमन क्रेन (लक्ष्मण सारस–कर्याङकुरूङ) ले मुख्य बासस्थान बनाउने गरेको दिव्यनगर फार्मल्यान्डमा यस वर्ष ३२ वटा मात्रै कर्याङकुरूङ भेटिएका थिए। गत वर्ष ११ वटा भेटिएका थिए।
'समग्रमा भन्दा मान्छेको चहलपहल बढ्दा चराको संख्या घट्दो देखिन्छ। सिमसार क्षेत्र जोगाउन नसक्नु पनि जलपन्छी घट्नुको कारण हो,' चौधरीले भने, 'चरालाई पहिले जस्तैगरी बसाइ सरेर यहाँ आउने वातावरण बनाउन त्यही अनुसारको व्यवस्थापन आवश्यक छ।'
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगर बजेटको अभावले निकुञ्जभित्र रहेका घाँसेमैदान, सिमसारहरूको व्यवस्थापन गर्न नसकिएको बताउँछन्। निकुञ्जलाई प्राप्त हुने बजेट पनि बर्सेनि घट्दै गएको उनले बताए।
'देवी ताललाई पहिलेको अवस्थामा फर्काउन सामान्य तरिकाले हुँदैन। धेरै बजेट चाहिन्छ,' उनले भने, 'अरू तालहरूको व्यवस्थापनको काम पनि बजेटकै अभावले नसकिएको हो।'
तालहरूलाई पहिलेको अवस्थामा फर्काउन सके पहिलेझैं चराहरू आउने थापा बताउँछन्।