तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहानै गएको ७ म्याग्नेच्युडको भूकम्पले कोशीका हिमाली तथा पहाडी जिल्लालाई त्रसित बनाएको छ।
कोशी, मधेस प्रदेशदेखि काठमाडौंसम्मै धक्का महसुस भएको भूकम्पबाट अहिलेसम्म कोशीमा ठूलो क्षति भएको सूचना नआएको प्रशासन र प्रहरीले बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। सोही कारण खुम्बु क्षेत्रमा लगातार पराकम्प गइरहेको छ। खुम्बु क्षेत्र सर्वोच्च शिखर सगरमाथा भएको क्षेत्र हो।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा बारम्बार भूकम्पको धक्का महसुस भइरहेको छ।
‘बिहानदेखि अहिले सम्म धेरैपटक धक्का महसुस भइसकेको छ तर क्षति भएको सूचना अहिलेसम्म पाएका छैनौं,’ उनले भने, ‘कतिपय ठाउँमा पैदलै पुगेर बुझ्नुपर्ने अवस्था छ। भौगोलिक विकटताका कारण सम्पर्क हुन सकिरहेको छैन। तर, अहिलेसम्म बुझ्दा क्षतिको सूचना छैन।’
सोलुका जनप्रतिनिधिहरूका अनुसार खुम्बु क्षेत्रमा लगातार हल्लाइरहेको भूकम्पले स्थानीयबासीलाई घरबाहिर निस्केर बस्न बाध्य पारेको छ।
‘पाँच पटक त भूकम्प नै आइसक्यो,’ प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले भने, ‘पटकपटक हल्लाइरहेका कारण सर्वसाधारण घर बाहिर छन्। तर, अहिलेसम्म भौतिक र मानवीय क्षतिको खबर छैन।’
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यतिबेला खुम्बु क्षेत्र लगभग सुनसान जस्तै छ। पर्यटकको घुम्न आउने सिजन अफ भएको र एक सातायता हेलिकप्टर सेवा पनि अवरुद्ध भएकाले खुम्बु क्षेत्रमा पर्यटक संख्या नगण्य छ।
‘स्थानीयवासी, जनप्रतिनिधिहरू र प्रहरीका अनुसार सो क्षेत्रमा लगातार धक्का आइरहेको छ, क्षति भएको कसैले बताएका छैनन्,’ उनले थपे, ‘हामीले प्रहरीका सबै युनिट परिचालन गरेर बुझ्ने प्रयास गरिरहेका छौं।’
अर्को हिमाली जिल्ला ताप्लेजुङमा पनि अहिलेसम्म क्षतिको समाचार नआएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।
‘जिल्लाका सबैतिर धक्का राम्रै महसुस भएको सूचना छ तर अहिलेसम्म भौतिक र मानवीय क्षतिको सूचना छैन, उनले भनिन् ‘जिल्लाम हामीले प्रहरी, सशस्त्र लगायतको सुरक्षा टोलीलाई तैनाथ राखेका छौं।’
यसैगरी कोशी पहाडकै अर्को जिल्ला ओखलढुंगामा पनि अहिलेसम्म क्षतिको सूचना नआएको जिल्ला प्रहरी प्रमुख डिएसपी कृष्ण खड्काले जानकारी दिए।
‘हाम्रो सबैभन्दा दुर्गम क्षेत्र राँगादोली हो, त्यहाँको पनि प्रहरी युनिट र जनप्रतिनिधिसँग सम्पर्क हुँदा क्षतिको सूचना छैन,’ खड्काले भने ‘अहिले पनि हामी सबैतिरबाट सूचना लिइरहेका छौं।’
तिब्बत र नेपालको सीमा क्षेत्र नजिकै भूकम्पको केन्द्र भएकाले त्यसको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।
कोशी प्रदेशका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार प्रदेशभरि धक्का महसुस भए पनि अहिलेसम्म क्षतिको सूचना आएको छैन। बुझ्ने क्रम जारी रहेको उनले बताए।