चितवनमा सोमबारदेखि जलपंछीको गणना सुरू हुँदैछ। ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ।
यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको हो। चितवनमा भने सोमबारदेखि सुरू हुन लागेको हो। गणना जनवरी १९ सम्म सञ्चालन हुनेछ। यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने जलपंछी गणनाका संयोजक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए।
गतवर्ष कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्जहरू, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदीशपुर लगायतका क्षेत्रहरूका साथै देशका विभिन्न तालतलैया र सिमसार क्षेत्रहरूमा यो गणना गरिएको थियो। यस वर्ष पनि यी क्षेत्रहरूमा निरन्तरता दिने लक्ष्य राखिएको पौडेलले बताए।
गतवर्ष देशभरका १८ प्रमुख सिमसारक्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरूमा गरिएको जलपन्छी गणनामा ७९ प्रजातिका ६३,९०० जलपक्षीहरू रेकर्ड भएका थिए। गणना गरिएका क्षेत्रमध्ये ६ वटा रामसारमा सूचीकृत सिमसारक्षेत्रहरू पनि थिए। गणनामा ४०२ स्वयंसेवकहरू सहभागी थिए।
सन् १९८७ देखि नेपालमा नियमित रूपमा एशियाली जलपन्छी गणना हुँदै आएको छ। यसले यहाँको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको पंछी विद हठन चौधरी बताउँछन्।
‘यस गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाइसराई गर्ने, पानीमा र यस वरिपरी बस्ने चराहरूको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु हो। यसबाट हामी सिमसार क्षेत्रको अवस्था, जलपन्छीको प्रजनन्को अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाउन सक्छौं’, चौधरीले भने, ‘जलपन्छी गणना सिमसारको स्वास्थ्य मूल्यांकन, जलवायु परिवर्तनको प्रभाव बुझ्न, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण छ।’
यसले रामसार महासन्धि, प्रवासी प्रजातिसम्बन्धी महासन्धि, जैविक विविधताको महासन्धि, पूर्वी एसियाली(अष्ट्रेलियाली फ्लाइवे पार्टनरशिप इनिसिएटिभ, मध्य एसियाली फ्लाइवे कार्य योजना, बर्डलाइफ इन्टरनेशनलको महत्वपूर्ण पन्छीक्षेत्र (आइबिए) कार्यक्रम, आइयुसिएन रेड लिस्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपन्छी संख्या अनुमान कार्यक्रम जस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धी तथा अभियानहरूको कार्यान्वयनमा पनि सहयोग पुऱ्याउने नेपाल पंछीविद संघको भनाइ छ।
उत्तरी ध्रूव, रूस, चीन, मंगोलिया लगायतका ठण्डा क्षेत्रबाट हजारौंको संख्यामा हाँस, जलेवा, गंगाचीललगायतका चराहरू जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालको विभिन्न ताल, तलैया, नदी र जंगलमा आउँछन्।
उत्तरी ध्रूवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चराहरू बाँच्नका लागि अनुकूल तापक्रमको खोजीमा नेपाल आउँछन्।
नेपालका ताल, तलैया, नदीमा माछा, किरा, फट्याङ्ग्रा जस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रहरूमा शिकारीबाट बच्न सुरक्षित बासस्थान उपलब्ध हुने भएकाले यहाँ चराहरूको लागि अनुकूल वातावरण रहेको मध्य चितवनको चरा गणनाका संयोजक मनेष लिम्बुले बताए।
उनकाअनुसार सोमबार चितवनको राप्ती नदी र दिव्यनगर फार्म क्षेत्रमा पंछीको गणना गरिनेछ। मंगलबार माडी क्षेत्रमा गणना गरिनेछ।
जलपंछी गणना नेपालको सबैभन्दा लामो समयसम्म चल्दै आएको नियमित वन्यजन्तु अनुगमन कार्यक्रम हो। यसको समन्वय वेटलेण्ड इन्टरनेशनलले गर्दै आएको छ।
नेपालमा गोक्यो, गोसाइँकुण्ड, माइपोखरी र फोक्सुन्डो ताल जस्ता हिमाली क्षेत्रका तालहरूमा भने अझै नियमित गणना हुन सकेको छैन।
यस वर्षको गणनाको प्रारम्भिक नतिजा आगामी २ फेब्रूअरी, २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिनेछ।
विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहको अवसरमा सार्वजनिक गरिने गणनाका संयोजक पौडेलले बताए।