प्रविधिको कारणले मानिसमा स्वास्थ्य सम्बन्धी जनचेतना धेरै भइसकेको छ। तर कुन बेला स्वास्थ्य सल्लाह लिने भन्ने कुरा महत्वपूर्ण हो। त्यसकै लागि अस्पताल गइन्छ। यो उमेरमा पनि भर पर्ने कुरा हो। त्यो व्यक्तिको अरू शारीरिक अवस्थामा पनि भर पर्छ। उदाहरणको लागि बच्चालाई ज्वरो आएको छ, सास फेर्न गाह्रो भएको छ, खाना खाइरहेको छैन, रोइरहेको छ भने त्यो बेला घरेलु उपचारमा मात्र भर परेर हुँदैन। जतिसक्दो छिटो नजिकको स्वास्थ्य संस्थामा लैजानु राम्रो हुन्छ। पुरूषमा एक खाले समस्या हुनसक्छ अनि महिलामा एक खाले समस्या हुनसक्छ।
बिरामी भएको बेलामा घरेलु उपायमा मात्र भर परेर हुँदैन। यस्तो गर्दा आफूलाई ठीक नभएको लागेमा जतिसक्दो चाँडो अस्पताल जानुपर्छ। जस्तो: सिटामोल खाएर पनि ३/४ दिनसम्म पनि ज्वरो आएको ठीक भएन भने जतिसक्दो चाँडो अस्पताल गएर परीक्षण गरेको राम्रो हुन्छ।
हेल्थ प्याकेजका नाममा अनावश्यक खालका परीक्षण गराउने चलन बढेको छ। ४० वर्ष नाघेका महिला/पुरूषले वर्षमा एक पटक सामान्य परीक्षण गराएको राम्रो हो। जस्तो: ४० वर्ष नाघेका युवाहरूले एकपटक क्लोनोस्कोपी, इण्डोस्कोपी गरे राम्रो हुन्छ। त्यस्तै प्रोस्टेट परीक्षण गरेको राम्रो भनिन्छ। अनि महिलाले स्तन र पाठेघरको परीक्षण गरेको राम्रो हो।
अर्को एउटा समस्या पनि छ। ठाउँ/ठाउँमा फार्मेसी खुलेका छन्। कोही स्वीकृति लिएर खुलेका छन् भने कोही यत्तिकै खुलेका छन्। मकै भटमास खाएजसरी एन्टिबायोटिक खाने चलन बढेको छ।त्यस्तै, नदुख्ने औषधि समेत जथाभावी खाएको पाइएको छ।
मेडिकलमा गएर सिधै किनेर खाने औषधि के हो भन्ने कुरा आफैमा विरोधाभास छ। जस्तो कोही मान्छेलाई बारम्बार टाउको दुख्ने समस्या छ भने सिटामोल खाएर मात्र हुँदैन। त्यस्ता बिरामीले स्वास्थ्य परीक्षण गर्नुपर्छ।
फार्मेसी त औषधि बेच्न बसेको हो। उनीहरूले नदुख्ने औषधि बेच्छन्। कतिपयले त कडा खालका नदुख्ने औषधि दिएका हुन्छन्।
झण्डै ४ दशक लामो मेरो अनुभवमा उपचार पद्धतिमा समेत धेरै परिवर्तन आएको छ। त्यो बेलामा बिरामीलाई चाहिनेभन्दा धेरै परीक्षण केही गरिन्नथ्यो। तर अहिले बिरामीसँग कुराकानीभन्दा धेरै स्वास्थ्य परीक्षण गरिन्छ। बिरामीको कुरा सुन्ने चलन हराउँदै गएको छ। जस्तो: टाउको दुख्यो भन्नसाथ प्रश्न कम तर परीक्षण बढी गरिन्छ। अहिलेको बिरामीको चेतनालाई आधार मान्दा ठिकै पनि हो।यदि हामीले परीक्षण गराइएन भने मलाई यो परीक्षण किन नगराएको भनेर प्रश्न सोध्ने चलन पनि धेरै छ।
पहिला चिकित्सा क्षेत्रमा लाग्नेहरूप्रति विश्वास धेरै थियो। हामीले यसरी उपचार गरौं भनेपछि त्यहाँ वादविवाद हुँदैनथ्यो। अहिले उहाँहरूले पनि प्रमाण खोज्नुहुन्छ। प्रमाण खोज्ने भएकाले हामी पनि धेरै परीक्षण गराउँछौं। चिकित्सकले बोलेकोभन्दा पनि प्रमाणले बोलोस् भन्ने बिरामीको चाहना हुन्छ। स्वास्थ्य सेवाभन्दा धेरै व्यापार बनेको छ। बजारमा परीक्षणका विकल्प पनि धेरै भए। त्यसैले परीक्षण पनि धेरै भएको हो। पहिला इण्डोस्कोपी धेरै उच्च प्रविधि मानिन्थ्यो तर अहिले सिटी स्क्यान समेत सामान्य भएको छ। उपचार धेरै प्रविधिमैत्री बनेको छ।
प्रविधिले चिकित्सक र बिरामी बीचको भावनात्मक सम्बन्ध कम भएको छ। बिरामी आफैले हिजो मेरो हेमोग्लोबिन १० थियो आज ९ अथवा ११ पुगेछ भन्न थालेको छ। जस्तो प्लेटिलेट्स पहिला २ लाख थियो, अहिले १ लाख ५५ हजार पुगेछ भन्न थालेको छ। यो एक किसिमले राम्रो पनि हो।
(मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका जनरल फिजिसियन प्रा.डा.एन.शर्मासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)