पोखरामा सोमबार दिउँसोदेखि हावाहुरीसहित पानी परिरहेको छ।
केही ठाउँमा छिटपुट असिना पनि परेको स्थानीयले बताएका छन्।
पोखरा–१३ कि किसान इन्दिरा आचार्यले पानीसँगै छिटपुट परेका मसिना असिनाले धान झारेको बताइन्। पोखराको लोकप्रिय जेठोबुढो धान रोपेकी आचार्यले असिनासहित परेको पानीले धान बिगार्ने चिन्ता व्यक्त गरिन्।
‘हावाहुरी र पानीसँग झरेको मसिना असिनाले धान झारेको छ,’ उनले भनिन्, ‘काटेर राखेको धान त बिग्रिने भयो नै। काट्न बाँकी धान पनि ढालेका छन्।’
पोखरामा तिहार सुरू भएसँगै छिटपुट पानी परेका थिए। तर, धानलाई असर पार्ने गरी परेको थिएन। सोमबार दिउँसो ठूलो वर्षा भएकाले पाकेको धान सोत्तर पारेको किसान आचार्यले बताइन्।
उता, कास्कीकै लुम्ले क्षेत्रमा भने असिना धेरै परेको स्थानीय नेत्र चापागाइले बताए। उनका अनुसार असिनाले पाकेको धान झारेको छ भने काटेर राखेको धान बिगारेको छ। असिना पानीले कोदोलाई पनि असर पारेको चापागाइले बताए।
‘लुम्लेमा ठुलो असिना पानी पर्यो। असिना पानीले पाकेको धान त बिगार्यो नै, कोदोलाई पनि असर पारेको छ,’ उनले भने।
कात्तिकमा हावाहुरीसहित परेको असिना पानीले धानबालीमा ठूलो असर पारेको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।
‘काटेको धानलाई धेरै नोक्सान पुर्यायो। काट्न बाँकी धान पनि ढालेका छन्,’ उनले भने, ‘भोलिसम्म पानी पर्यो भने पाकेको धान सोत्तर हुन्छ।’
यसपालि समयमै वर्षा भएकाले धान उब्जनी बढ्ने कृषि महाशाखाको अनुमान थियो। बाली भित्र्याउने बेला परेको असिना पानीले उब्जाउ घटाउने कडरियाको चिन्ता छ। पानी परेसँगै पोखरामा चिसो ह्वात्तै बढेको छ।