तुलसीपुरका अपरिचित समूहले हालसालै सेवाबाट अवकास लिएका एक जना पूर्व-प्रहरीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले पूर्वप्रहरी वीरबहादुर वली (विरे) माथि एक समूहले खुकरी प्रहार गरी घाइते तुल्याएको बताए।
उनको हातको पाखुरा लगायतका ठाउँमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ।
घाइते वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।
वली केही महिनाअघि राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ४ स्थित अस्थायी प्रहरी पोष्ट गोठी खोलामा कार्यरत थिए।
एक महिनाअघि एक स्थानीय व्यवसायीलाई खुकुरी प्रहार गरेको वलीमाथि आरोप थियो। त्यतिखेर ती घाइते युवकले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएको भए पनि उनी पक्राउ परेका थिएनन्।
घटनापछि रूकुम पश्चिम घर भएका वली उतै गएको र यो बीचमा तुलसीपुर फर्किएको मौका छोपेर युवाहरूको एक समूहले दिउँसो उनीमाथि खुकुरी प्रहार गरेको स्रोतले बताएको छ।
‘एक महिना पहिलाको बदलाका लिन पूर्वप्रहरी वलीमाथि खुकुरी प्रहार भएको जस्तो देखिएको छ,’ स्रोतले भन्यो, ‘त्यतिखेर पनि अनाहकमा ती युवकमाथि वलीले खुकुरी प्रहार गरेको भन्ने खुल्छ।’
डिएसपी ठकुरीले खुकुरी प्रहारमा संलग्न युवाहरूको खोजी भइरहेको बताए।
घटना अनुसन्धानका लागि प्रहरीले दुई जना स्थानीय युवालाई नियन्त्रनमा लिएको भए पनि उनीहरूको घटनामा कुनै संलग्नता नभएको स्थानीयले दाबी गरेका छन्।