राप्ती राजमार्गअन्तरगत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको एउटा कार बुधबार बिहान ११:५५ बजेतिर लमही नगरपालिका– ९ भञ्ज्याङको भिरबाट दुर्घटनामा परेको छ।
घटनास्थलमा घाइतेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक भवनाीप्रसाद धमलाले दुई जना गम्भीर घाइतेलाई उद्धार गरी अस्पताल पठाउन थालिएको सेतोपाटीलाई बताए।
‘अमेलिया चोकदेखि ७ किलोमिटर तुलसीपुरतर्फ जाने भञ्ज्याङको मोड घुम्तीबाट कार निकै तल खसेको छ,’ उनले भने, ‘घाइतेको नाम ठेगाना केही खुलेको छैन।’
घटनास्थलतर्फ जाँदै गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भञ्ज्याङको भिरको मोडबाट खसेको बताए।
डिएसपी ठकुरीका अनुसार कार दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका – ६ का कर्णबहादुर थापा र अर्का पूर्णबहादुर खत्री हुन् भन्ने एक जना आफन्तले बताएको भए पनि यकिन भइनसकेको जानकारी दिए।
घाइते उनीहरू साला भिनाजू हुन् भन्ने खुलेको पनि डिएसपी ठकुरीले बताए।
‘म घटनास्थल पुग्नुभन्दा पहिल्यै अमेलियाको प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाइसकेको थियो,’ ठकुरीले भने, ‘आफन्तले फोन गरेको आधारमा नाम दिएको भए पनि यकिन भइसकेको छैन।’
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।