सप्तकोशी नदीको बहाव बढ्दै गएर ६ लाख क्युसेक पुगेको छ।
शनिबार कोशी बराजका अनुसार अहिले सप्तकोशीमा पानीको बहाव ६ लाख क्युसेक पुगेको छ।
कोशी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।
शनिबार बिहानैदेखि बढ्न थालेको सप्तकोशी नदीको बहाव लगातार उकालिँदै गएपछि स्थानीय प्रशासनले सप्तकोशी पुलबाट हुने आवतजावतमा शनिबार चार बजेदेखि रोक लगाएको थियो।
आज सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी बराज प्रशासनले जानकारी दिएको छ।
शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो।
यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसतह क्युसेक रेकर्ड भएको थियो। अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्युसेक बहाव पुगेको थियो।
यसअघि १९८९ मा सप्तकोशीको ४ लाख ७२ हजार क्युसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ।
सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी बराजका ५६ वटै ढोका खोलिएको छ।