अविरल वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग र नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पृथ्वी राजमार्गको घोप्टेभिर, मौवाखोला, दतिखोला र पानी धारामा पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध छ।
नारायणघाट–मुग्लिन सडकको टोपे खोला नजिक पहिरो झरेर यायायात दुईतर्फै बन्द छ। केराबारी, घुमाउने र सिमलतालमा पनि पहिरो झरेको डिएसपी भेषराज रिजालले बताए।
साथै नौ किलो भन्ने स्थानमा सडक भासिएको छ। सडक २ फिटजति तल भासिएको प्रहरीले जनाएको छ। सडक भासिएर बग्ने क्रम जारी रहेको र सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उक्त गाडीमा चालक र यात्रु छैनन्।
चितवनस्थित पूर्व–पश्चिम राजमार्गको टिकौलीमा २ वटा रुख ढलेका छन्। रुख ढलेर मोटरसाइकल बाहेकका यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ।