क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले छाडेको भन्ने घटनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) प्रजित केसी नेतृत्वको समितिले छानबिन थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी कर्मचारीले क्रिप्टो करेन्सीका कारोबारीलाई पक्राउ गरी छाडेको भन्ने आरोप लागेपछि प्रहरी परिसरले आन्तरिक रूपमा छानबिन अघि बढाएको थियो।
यस घटना बाहिरिएसँगै कार्यालय प्रमुख एआइजी किरण बज्राचार्यले आइतबार एसपी केसीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकी हुन्।
उक्त समितिले सोमबार परिसर पुगेर आन्तरिक छानबिनको प्रतिवेदन बुझेको हो। त्यसपछिका छानबिन केसीको नेतृत्वमा हुन लागेको हो।
यस समितिमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबास खड्का र प्रहरी निरीक्षक सरोज राई सदस्य छन्। उनीहरूलाई घटनाबारे यथाशक्य प्रतिवेदन बुझाउन भनिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा कार्यरत सहायक प्रहरी हवल्दार गणेश खड्का र यस घटनामा संलग्न भनिएका व्यक्तिहरूको कनेक्सनबारे पनि प्रहरीले छानबिन गरिरहेको हो।
यो घटनामा ती प्रहरी हवल्दारले ५० लाख रुपैयाँ बुझे/नबुझेको र अरू प्रहरीको संलग्नता के-कस्तो छ भन्नेबारे छानबिन हुने एक प्रहरी अधिकारीले बताए।
यस घटनामा क्यानडा बस्ने तेज तामाङ र आशिष आचार्यबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बतायो। उनीहरू दुबै जना अहिले फरार छन्।
तामाङ र आचार्य साथीहरू हुन्। उनीहरू दुबै जना केही समयअघि काठमाडौं आएका थिए। काठमाडौं आएपछि तामाङले आफ्ना साथी क्रिप्टो कारोबारी रहेको भन्दै प्रहरी परिसरमा रहेका सहायक हवल्दार खड्कालाई सूचना दिएका थिए।
उनले आफ्नै साथीबारे किन सूचना दिए भन्नेबारे पनि खुलिसकेको छैन। प्रहरीले यसबारे थाहा पाएपछि भने भदौ १४ गते शुक्रबार आशिष आचार्यलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएपछि तामाङले आचार्यका परिवारलाई सम्पर्क गरी ५० लाख रकम लिएको आशंका छ।
त्यसबीच प्रहरीको नियन्त्रणमा रहेका आचार्य पनि छुटे। आचार्य फरार भएपछि भने परिवारले नै यसरी ५० लाख रकम लिएर छाडेको भन्दै निवेदन दिएको थियो। प्रहरी समेतको संलग्नतामा घटना भएको आशंकामा परिवारले उजुरी दिएको थियो।
उजुरी दिएपछि परिसरले आन्तरिक छानिबन गरिरहेको थियो। यद्यपि प्रहरी सहायक हवल्दार खड्काले रकम लिए/नलिएको भन्नेबारे पुष्टि भइसकेको छैन।