काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जान लागेका एक युवालाई प्रहरीले गरेको व्यवहार देखाउने एउटा भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुक लगायतमा चर्चामा छ।
विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले विदेश जान घर परिवार तथा आफन्तहरूबाट बिदाइ भएका ती युवालाई खादा खोल्न लगाएर दुर्व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ।
भिडिओमा विमानस्थलभित्र जान लागेका युवालाई प्रहरीले लगाइरहेको खादा खोल्न भनेका थिए। युवाले खादा नखोलेपछि प्रहरीले खादा समात्दै ‘यो खोल्नु भनेको’ कुरा भिडिओमा सुनिन्छ।
प्रहरीले युवकले लगाएको खादा समाएर ‘यो खोल्नु भन्या’ भन्दै निकाल्न खोजेका थिए। ती युवकको पछाडि रहेका युवकले प्रहरीको यो व्यवहार देखाउने भिडिओ खिचेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार उक्त घटना गत भदौ १४ गते बिहानको हो।
‘त्यो भदौ १४ गते बिहान ७ बजेको घटना रहेछ। हामीले सिसिटिभी फुटेज हेर्दा दुई जना यात्रु प्रवेश गर्न खोज्दा भएको देखियो,’ उनले भने, ‘अगाडिको यात्रु हिँडिरहँदा पछाडि रहेका यात्रुले भिडिओ खिचेको देखियो।’
यस घटनापछि ड्युटीमा खटिएका सहायक हवल्दारलाई सचेत गराउने उनले बताए। ‘यसबारे छलफलका लागि सहायक हवल्दारलाई बोलाएका छौं, हामी करेक्सन गर्छौं। ती प्रहरीलाई पनि सचेत गराउँछौं,’ उनले भने।
विमानस्थल पुगेका यात्रुले लगाएका र बोकेका सबै सामान सुरक्षा जाँच गर्नुपर्ने उनले बताए। पहिलो गेट छिरेपछि प्रहरीले मेटल फ्री गरेर सामान र मानिस जाँच गर्छ। त्यसैको प्रयोजनका लागि खादा खोल्न लगाउने गरेको उनले बताए।
पछिल्लो समय विमानस्थल विस्तारको क्रममा विभिन्न ठाउँको मर्मत भइरहेको हुँदा ‘सूचना दिन’ बस्ने कर्मचारी राखिएको छैन।
‘एक्सरे मेसिनमा जाँच गर्नका लागि हामी खादामाला फुकाल्न लगाउँछौं। भित्र आइसकेपछि मेटल फ्री गरेर ब्यागेज र मानिसलाई पनि चेक गर्छौं,’ उनले भने, ‘सूचना प्रवाह गर्ने मानिस नहुँदा प्रहरीले नै खादा निकाल्न अनुरोध गर्दै आएको हो।’
सुरक्षाकै कारणले पहिल्यैदेखि नै खादामाला फुकाल्दै आइएको उनले बताए। ‘खादाले एक्सरेमा स्पष्टसँग नदेखिने समस्याका कारण यो गरिएको हो,’ उनले भने।