जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी कर्मचारीको शंकास्पद कारोबारीसँग 'कनेक्सन' रहेको आशंकामा छानबिन सुरू भएको छ।
परिसरमा कार्यरत ती प्रहरीको शंकास्पद कारोबारमा संलग्न भएका व्यक्तिसँग कनेक्सन देखिएको भन्दै परिसरले आन्तरिक रूपमा छानबिन थालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार यसबारेमा समिति बनाएर छानबिन भइरहेको छ। छानबिनबाट निष्कर्ष नआइसकेको र ती प्रहरी कर्मचारीले रकम लिए वा नलिएको, के-कस्ता सम्बन्ध थियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।
‘कर्मचारीबाट कुनै बदमासी भएको हो वा होइन भन्नेबारे प्रहरीको शुद्धीकरण अभियान अन्तर्गत आन्तरिक रूपमा छानबिन भइरहेको छ। हामीले शून्य सहनशीलता अपनाएका छौं,’ एसपी अधिकारीले भने, ‘गलत गरेको पाइए, दोषी देखिए कारबाही गर्छौं।’
शंकास्पद कारोबारीविरूद्ध उजुरी आएपछि प्रहरीले आरोपीलाई बोलाएको थियो। त्यति बेला ती प्रहरीले आरोपीलाई छाडेको र आरोपीकै परिवारले प्रहरीविरूद्ध उजुरी गरेपछि भने आन्तरिक छानबिन सुरू भएको हो।
यस्तै ती आरोपी हाल फरार भइसकेका छन्। उनको शंकास्पद कारोबारबारे पनि परिसरको आइटी सेलले विस्तृत रूपमा छानबिन गरिरहेको छ।