नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ।
बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले पानी परिरहेको र पहिरो खसिरहेकाले पन्छाउनका लागि समस्या भएको बताए।
‘ढिस्को खसेको छ। पानी परिरहेकाले पन्छाउन पनि समस्या भएको छ। सवारी आवागमन दुईतर्फी नै अवरूद्ध छ,’ उनले भने।
पहिरोले सडक अवरूद्ध भएकाले सवारी साधन नागढुंगाबाट अगाडि नै रोकिएको उनले बताए।
बाटो अवरूद्ध भएपछि दुईतर्फी नै साधन रोकिएका छन्। इन्स्पेक्टर थपलियाले वैकल्पिक मार्ग प्रयोगका लागि समन्वय भएको पनि बताए।
‘साना साना गाडीहरूलाई धार्केबाट सितापाइला निस्कने सडकबाट पठाउन इलाका प्रहरी कार्यालय खानीखोलासँग समन्वय भएको । बाडभन्ज्याङको बाटो कस्तो छ भनेर बुझिरहेका छौं,’ उनले भने।
पहिरो खस्न छाडेपछि पन्छाउन सुरू गरिने पनि इन्स्पेक्टर थपलियाले जानकारी दिए।