धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्न माग गर्दै कर्मचारी, जनप्रतिनिधि एवं अभियन्ताहरू प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनसनमा बसेका छन्।
सिरहा नगरपालिकाका इन्जिनियर प्रविणकुमार यादवको नेतृत्वमा सिरहा नगरपालिका र औरही गाउँपालिकाका १० जना स्थानीय तथा जनप्रतिनिधिहरू आमरण अनसनमा बसेका हुन्। बाढीले भत्काएको निर्माणाधीन पुलमा धेरै प्राविधिक त्रूटी रहेको र उक्त पुलमा मुद्दा समेत चलिरहेको हुँदा प्रदेश सरकारसँग नयाँ पुल निर्माणको माग राखेका छन्।
गत असार २७ गते इन्जिनियर यादवसहितका समुहले मुख्यमन्त्रीलाई ७ दिने अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रप्रति सरकारले चासो नदिएपछि अनसनमा बसेको उनको भनाइ छ। आठौं दिन बित्नलाग्दा समेत कुनै पहल नभएपछि आफुहरू बाध्य भएर अनसनमा बसेको इन्जिनियर यादव बताउँछन्।
‘प्रदेश सरकार हुँदा पनि बारम्बार केन्द्र सरकारमै जानु परे प्रदेश सरकारको के काम? के स्थानीय सरकारको काम कल गाड्ने र मन्दिर बनाउने हो?,' उनको प्रश्न छ, 'गत वर्ष १४ अर्ब रकम फ्रिज भयो। सो रकममा कमला नदिमा १४ वटा पुल बन्थ्यो। एउटा पुलले २० लाख मानिस प्रभावित छ।'
यस्तै, चालु आर्थिक वर्षमा सरकारले कम्तिमा ३० देखि ३५ करोड रुपैयाँ बजेट पुल निर्माणका लागि छुट्याएर काम अगाडि नबढाएसम्म अनसन जारी राख्ने उनीहरूको भनाइ छ।
'नयाँ पुल निर्माण एक हप्तामै नहुने कुरा हामीलाई थाहा छ,' उनले भने, 'तर सरकारले जसरी भए पनि कमला पुलका लागि बजेट विनियोजन गरेपछि मात्रै अनसन तोड्छौं। तर सरकारले जसरी भएपनि काम अगाडि बढाउनुपर्छ।'
त्यस्तै, पुल निर्माणमा एक अर्ब हाराहारी खर्च हुने बताउँदै यो वर्ष काम सुरू गरेपनि डिपिआर तयार गर्न नै समय लाग्ने उनको भनाइ छ। त्यसैले ठेक्का लगाउँदा माघ फागुन जाने र काम अर्को वर्षको वैशाख र जेठ महिनामा नै हुने उनको अनुमान छ।
भत्केको पुल निर्माण बनाउँदा १५ करोड रुपैयाँ लाग्ने भएकाले उक्त रकम इन्स्योरेन्स कम्पनी वा ठेकेदार कम्पनी कसले ब्यहोर्छ भन्ने विवाद छ।
कमला पुल निर्माणको माग गर्दै रामरिझन यादव लगायतका अभियन्ता एवं युवाले विगत १० वर्षदेखि आवाज उठाउँदै आएका छन्। विभिन्न ठूला दलका नेताहरूका लागि कमला पुल चुनावी बहस मात्र भएको अनसनमा बसेकाको गुनासो छ। पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, सीके राउत लगायतका नेता आएर सबैले यो असार मसान्तमा पुल बन्ने भनेता पनि कहिले बन्ने टुंगो नभएको उनीहरूको गुनासो छ।
औरही गाउँपालिका-३ का वडाध्यक्ष जिवछ यादव, सिरहा नगरपालिकाका-४ का वडाध्यक्ष सम्साद आलम, औरही-४ का वडाध्यक्ष सुरेन्द्र यादव, सिरहा-६ का वडाध्यक्ष इन्द्रजित यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, इन्जिनियर शिवशंकर यादव, शैलेश गोइत, हिन्दुसम्राट सेनाका मनिष कुमार यादव, सिरहा-८ का वडासदस्य रूपेश कुमार यादव आमरण अनसनमा बसेका छन्।