प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी मनाइँदैछ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने सांस्कृतिक मान्यता छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरू भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ।
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रशिद्ध मानिन्छ। उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दुध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।
काठमाडौंको नाग पोखरीमा विशेष मेला लागेको छ। नागको प्रतीमामा दुध, खिर आदि मिठान्न परिकार चढाएर भक्तजनहरूले नागको अनुष्ठान गरिरहेका छन्। हिन्दु धर्ममा नागलाई विष्णु र शिवका रूपमा मानिन्छ।