मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ।
शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुइवटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्।
समुन्द्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मानव अवशेष भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।
‘भेडा चराउँदै जाँदा स्थानीयले मानिसको हड्डी, टाउजर र आइफोन भेटेका छन्, उनीहरुले मलाई फोटो पठाएका छन्,’ उनले भने, ‘यसबारे हामीले प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई जानकारी गराइसकेका छौं।’
लेकमा पानी परिरहेको र मानिसको बस्ती भन्दा धेरै माथि भएकाले भेटिएका मानव अवशेष पोखरा ल्याउन समस्या भएको उनले बताए।
उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको छ। पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए।
वडाध्यक्ष क्षेत्रीले माइकलको अवशेष हो कि होइन भनेर पत्ता लगाउन उनका परिवारलाई टाउजर र आइफोनको तस्बिर पठाएको बताए।