नाबालिकाहरूको बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो।
उनलाई बत्तिसपुतलीबाट मंगलबार पक्राउ गरेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए।
एसपी मिश्रका अनुसार उनी नेपाली काउन्टडाउन नामक युट्युब च्यानलका संचालकसमेत हुन्।
खरेलसहित केहीले भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मनोहरा जडिबुटीमा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएका थिए।
त्यहाँ आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरूलाई वेटरको काममा लगाउँथे। तर ग्राहकहरूसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको थियो।
त्यस्तै गेष्ट हाउसमा बस्ने नाबालिकाहरूलाई यौन सम्पर्क राख्न बाध्य पारेको पनि अनुसन्धानबाट खुलेको छ। प्रति व्यक्ति हजारदेखि पाँच हजारसम्म लिएर नाबालिकालाई जबरजस्ती यौन सम्पर्क बस्न बाध्य पारेको खुलेको हो।
गेष्ट हाउसबाट प्रहरीले प्रयोग भएका र नभएका अस्थायी साधन, प्रेग्नेन्सी टेष्ट र गर्भ निरोधक औषधि पनि फेला पारेको थियो।
बालिकालाई उनीहरूले पनि जबरजस्ती गर्ने गरेको खुलेपछि प्रहरीले असार २४ गते नै घटनामा संलग्न वीरबहादुर सिंतान र सुबिलाल सिंतानलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको थियो।
थप अनुसन्धानको क्रममा प्रहरीले खरेललाई पक्राउ गरेको हो।