नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेरसम्बन्धी कुनै विवाद नरहेको प्रष्टाएको छ।
बिहीबार जंगी अड्डामा पत्रकार सम्मेलन गरी सूचना अधिकारीसमेत रहेका सहायक रथी गौरबकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्टीकरण दिएका हुन्।
विभिन्न सञ्चार माध्यमहरूमा सिग्देलको नागरिकतामा विवाद रहेकाबारे खबरहरू प्रकाशित भएका थिए। त्यसतर्फ लक्षित गर्दै सेनाले सिग्देलको नागरिकताबारे कुनै विवाद नहरेको बताएको छ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ। त्यसपछि रथी सिग्देल प्रधान सेनापति हुनेछन्।
सिग्देल उपरथीबाट रथीमा बढुवा हुने बेलादेखि नै उनको उमेरलाई लिएर विवाद भएको थियो। उनी रथीमा बढुवा हुनुअघि उपरथी ताराध्वज पाण्डे पनि रथीमा सिफारिस भएका थिए।
तर उनको नागरिकतामा किर्ते गरेको आरोप लागेको थियो। आरोप लागेसँगै पाण्डेले पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामा पछि रोलक्रम अनुसार सिग्देल रथीमा बढुवा भएका थिए।
यही विषय बिहीबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उठेको थियो। सो प्रश्न उठेपछि सूचना अधिकारी एवं सहायक रथी केसीले सेनासँग प्राप्त कागजातहरू समेत उल्लेख गरी प्रष्टीकरण दिएका हुन्।
‘अशोक जरसाबको विषयमा उहाँको तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ उनले सिग्देलले लिएको पहिलो नागरिकता देखाए।
उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए। त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए।
‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनुभएको थियो। जसमा रूपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ उनले भने।
दुबै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताए। सेनाले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्ममिति रहेको बताएको हो।
‘मैले एसएलसीको प्रमाणपत्र देखाएँ। यसमा जन्ममिति २०२३-१०-१९ नै छ। जुन २०४० साल भदौ २९ गते जारी भएको थियो। अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ,’ उनले भने, ‘त्यसमा पनि २०२३-१०-१९ नै छ। यसको अवाला नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेर भर्ना भएको पनि जानकारी गराउन चाहन्छु।’
नागरिकता लिँदा १७ वर्ष उमेर लेखिएको भन्ने विषयमा पनि स्पष्ट कानुनी व्यवस्था रहेको उनको भनाइ थियो।
कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको र अर्को प्रमाण पत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्म मितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने व्यवस्था रहेको उनले बताए।
२०८० मंसिरमा सिग्देलको नागरिकतासम्बन्धी विवाद आएपछि रूजु गरेरै पदोन्नति गरेको जानकारी दिए।
हर्नुहोस् भिडिओः