५ किलो लागु औषध कोकिनसहित एक जना मलेसियन नागरिक पक्राउ परेकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलस्थित एक होटलबाट मलेसियन नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनाको आधारमा खटिएको परिसर र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले काठमाडौं सिटी होटलमा छापा मारेको थियो।
त्यहाँ प्रहरीले मलेसियाकी ४७ वर्षीया महिला बथुमलाई भादिभालोलाई फेला पारेको थियो। उनको कोठामा ६ वटा स्कुल ब्याग फेला परेको थियो। जसभित्र फल्स बटम बनाइएको थियो।
फल्सबटम हेर्दा कोकिन बरामद भएको एसपी अधिकारीले जानकारी दिए। ती महिलाबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ। उक्त कोकिन अवैध बजारमा २० करोड ३७ लाख बराबरको हुने प्रहरीले जनाएको छ।
एसपी अधिकारीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ (शनिबार) काठमाडौं आइपुगेकी थिइन्। उनी १९ जुलाइमा नेपालबाट पुन: मलेसिया फर्किँदै थिइन्। त्यसैबीच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।
यो कोकिनको बजार पनि भारतनै भएको प्रहरीले जनाएको छ। उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन्।
काठमाडौंलाई ट्रान्जिट बनाएर अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजना थियो।
भारतबाट एक जना उक्त कोकिन लिन आउने तयारी थियो। तर त्यसैबीच उनी पक्राउ परेकी हुन्।