गत बिहीबार बिहान भालुको आक्रमणबाट लमही नगरपालिका–६, देउपुरकी ४७ वर्षीया शोवारी घर्ती मगर घाइते भइन्। लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार बुटवलमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लका अनुसार भालुको आक्रमणबाट शोवारीको टाउको र अनुहारसहित शरीरका केही भागमा गहिरा घाउ बनेका छन्।
कर्री सामुदायिक वनमा शोवारी र अर्की एक महिला च्याउ खोज्न गएका थिए। भालुले शोवारीलाई आक्रमण गर्यो। अर्की महिला भाग्न सफल भइन्। शोवारी पनि केही बेर भालुसँग लडेर फुत्किन सफल भइन्।
गत हप्ता नै तुलसीपुर उपमहानगरपालिका–९ को अर्को एउटा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिलामाथि बाघले आक्रमण गरेको थियो। उनीहरू उम्किन सकेका थिए।
वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील रहेका लमहीका चिरिञ्जीवी खनालका अनुसार दाङको लमही नगरपालिकादेखि राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रमा वन्यजन्तुको चहलपहल बढेको छ।
खासगरी लमही–भालुवाङ ५० किलोमिटरको ‘बोटल नेक’ क्षेत्रमा केही समययता वन्यजन्तुको ओहोरदोहोर बढेको हो।
लमही नगरपालिका–९, अमेलियाबाट पश्चिमतर्फ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। राष्ट्रिय निकुञ्जका कारण पनि ‘बोटल नेक’ क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर बढेको खनालको निष्कर्ष छ।
देउखुरी क्षेत्रकै राजपुरको कोइलाबासको नेपाल–भारत सीमा क्षेत्र राखिएको क्यामराले गत वर्ष एउटा बाघको फोटो खिचेको थियो। लमही–भालुवाङ ‘बोटल नेक’ चितुवा, हुँडार, बँदेल, चित्तल, राते, चरीबाघ, अजिंगर, राजगोमन लगायतका जनावर क्यामेरा ट्र्यापमा पर्ने गरेका छन्। पाटेबाघ भने फेला परेको छैन।
चारवटा छोटा सिङ हुने मृग प्रजातिको चौका पनि क्यामेरा ट्र्यापमा परेको छ। चौका बाँके र बर्दिया क्षेत्रमा पाइने संकाटापन्न वन्यजन्तु हो। निलगाई र घोरल पनि सामुदायिक वनहरूमा राखिएका क्यामेरामा समेटिएका छन्।
दुर्लभ मानिएको डंगर गिद्ध पनि फेला परेको छ।
करिब १५ दिनअघि पूर्व–पश्चिम राजमार्गको तीन सय मिटर क्षेत्रभित्रै काठेभालु पाइएको थियो। यसक्षेत्रका सामुदायिक वनमा काठे भालुको शोध–अध्ययन गरिरहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका एक सदस्य राजन पौडेलले लमही–भालुवाङ क्षेत्रको वनमा काठेभालु र तिनका बच्चा क्यामेराहरूमा खिचिएको बताएका छन्।
राजनका अनुसार नेपालमा तीन प्रकारका भालु पाइन्छन्। खैरो भालु मनाङ, मुस्ताङ र गोरखामा हिमाली क्षेत्रमा पाइन्छ। कालो भालु हिमाल र पहाडी भागमा पाइन्छ। दाङ, बाँके, बर्दिया, चितवन, पर्सा, कोशी र उदयपुर क्षेत्रमा काठे भालु पाइन्छ।
हिमाल र पहाडी क्षेत्रको भालुभन्दा चुरे क्षेत्रको भालु सानो आकारको हुन्छ। वयस्क भालु कम्तीमा ५० किलोग्रामको हुन्छ। बढीमा १४० किलोग्रामसम्मको हुन्छ।
काठेभालुको आहारबिहार हिमाली र पहाडी क्षेत्रमा पाइने भालुभन्दा फरक हुन्छ। यी क्षेत्रका भालु सर्वभक्षी हुन्छन्। चुरेक्षेत्रमा पाइने काठे भालुले जनावर शिकार गर्दैन।
काठेभालु धमिरा वा कमिला खान मन पराउँछ। सिजनअनुसार फलफूल र कन्दमूल खान्छ।
पौडेल अनुसार पश्चिमका बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र लमही–भालुवाङ ‘बोटल नेक’ क्षेत्र हुँदै चितवन राष्ट्रिय निकुञ्जसम्म केही वन्य जन्तु ओहोरदोहोर गर्छन्। यो जैविक मार्गमा मानव–वन्यजन्तु द्वन्द्व हुने गरेको छ।
अहिले धेरै वन्यजन्तुको प्रजननको समय हो। यस्तो समयमा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने अध्येताहरू बताउँछन्। उनीहरूका अनुसार यस्तो सिजनमा मानिस वनमा पस्न हुँदैन। पस्नुपर्दा धेरै सचेत रहनुपर्छ।
मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जनचेतना बढाउन जरुरी रहेको वन्यजन्तुका अध्येता तथा संरक्षणकर्मी खनालको भनाइ छ। वन अतिक्रमण, घाँसदाउरा, च्याउलगायत खोज्न अनियन्त्रितरूपमा प्रवेश गर्दा वन्यजन्तुको आक्रमण बढेको हो।
‘यो सिजन वन्यजन्तुको प्रजननको हो। यस्तो सिजनमा वन्यजन्तुहरू आक्रामक हुन्छन्। आफ्ना बच्चाको सुरक्षाका लागि बढी सतर्क रहन्छन्,’ उनी भन्छन्, ‘यस्तै परिस्थितिमा मानिसमाथि आक्रमण बढ्छ।’
भालुलाई लक्षित गरेर एक महिनाअघि राखेका क्यामेरामा अमेलिया–भालुवाङ क्षेत्रका सामुदायिक वनहरूमा ठाउँठाउँमा काठे भालु र तिनका बच्चा देखिए।
लमहीनजिकै वनगाउँ, नारायणपुर, सोरौटी क्षेत्रका सामुदायिक वनहरूमा पूर्व–पश्चिम राजमार्गबाट तीन मिटर परसम्ममा काठे भालु र तीनका बच्चाहरू फेला परेको खनालले बताए।
उनका अनुसार नेपालमा काठेभालुको संख्या नेपालमा कति छ भन्ने प्रष्ट छैन। नेपालको चुरेक्षेत्रमा तीन सयवटासम्म रहेको उनको अनुमान छ।