औषधि व्यवस्था विभागले ललितपुरको पाटन अस्पताल अगाडि रहेको एउटा औषधि पसल सिल गरेको छ।
मंगलबार दिउँसो विभागबाट गएको अनुगमनको टोलीले श्रीराम औषधि पसलमा सिल गरेको हो।
पाटन अस्पतालमा उपचाररत शंखमुल बस्ने एक बिरामी छन्। २०७९ कात्तिकमा उनको घाँटीमा क्यान्सर देखिएको थियो। उनी किमो गर्न पाटन अस्पताल जाने गरेकी थिइन्। पाटन अस्पतालमा किमो थेरापीको औषधि महंगो भएपछि उनले अस्पताल बाहिर रहेको औषधि किन्न थालेकी थिइन्।
‘आर्थिक अवस्था कमजोर हुँदै गएपछि बाहिर सस्तोमा पाइने भएकाले यहाँबाट किमोको औषधि लिएका थियौं। अस्पतालभित्र २६ हजार परेको थियो। यहाँ १७ हजार परेको थियो,’ मंगलबार दिउँसो सेतोपाटीसँग कुराकानी गर्दै ती बिरामीले भनिन्।
अस्पताल भित्र किनेको औषधिले स्वास्थ्यमा सुधार भए पनि उक्त पसलको औषधिले सुधार नदेखिएपछि शंका लागेको ती बिरामीले बताइन्। शंका लागेर विभागलाई खबर पुगेपछि फार्मेसी अधिकृतसहितको टोलीले पसलमा अनुगमन गरेको छ।
अनुगमन गर्न पुगेका विभागका फार्मेसी अधिकृत सर्फराज अहम्मद खानका अनुसार बिरामीलाई बेचिएको ६ वटा औषधि फेला परेको छ। औषधिको गुणस्तर, नक्कली/सक्कली भन्नेबारे ल्याब परीक्षणबाट मात्रै भन्न सकिने उनले बताए।
‘सक्कली/नक्कली के हो हामी ल्याब परीक्षणका लागि पठाउँछौं, अहिलेलाई शंकास्पद भन्न पर्छ। रिपोर्टले बताउँछ यो के हो भनेर। अहिलेसम्म यो औषधि अनधिकृत माध्यमबाट आएको देखिन्छ। उहाँले खरिद बिल देखाउन सक्नुभएको छैन,’ अधिकृत खानले भने।
औषधिको उत्पादकको आयात गर्ने कम्पनीसँग बुझ्दा विभागले बरामद गरेको औषधि आयात नगरेको भन्ने जबाफ पाएको पनि उनले बताए। शंकास्पद औषधि भेटिएको हुँदा पसल बन्द गरिदिएको उनको भनाइ छ।
पसलका सञ्चालक लक्ष्मण महर्जनले भने आफूहरूले चिकित्सकको सिफारिसका आधारमा औषधि बिक्री गर्ने गरेको बताए। आफूले औषधि पसल ८ वर्षदेखि सञ्चालन गरिरहेको र अहिलेसम्म यस्तो घटना नभएको उनको भनाइ छ।
तस्बिरहरू:
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।