काठमाडौं महानगरपालिकाले आइतबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एसइई पूरक परीक्षाको तयारी कक्षा सुरू गरेको छ।
२०८० सालको एसइईमा नियमित परीक्षामा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरू गरेको महानगरले जनाएको छ।
कक्षा सञ्चालनका लागि गत शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग तयारी बैठक गरेको थियो। महानगरभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेडवृद्धि प्राप्त गरेका थिए भने बाँकी ८७३ जना (२२%) विद्यार्थी ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुँदैछन्।
महानगरअनुसार सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। अर्थशास्त्रमा २१९, विज्ञानमा २६६, सामाजिकमा १८९, नेपालीमा ११६, अंग्रेजीमा ९१, लेखामा ७०, अप्सनल म्याथमा ५८, कम्प्युटरमा २०, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन्।
यस्तै, इलेक्ट्रिकल मेसिन विषयमा ४, भूगोलमा ३, वेसिक इलेक्ट्रिकलमा ३, इन्डष्ट्रियल इन्स्टलेसनमा २, इलेक्ट्रिकल इञ्जिनियरिङमा एक र वातावरण विज्ञानमा एक जना अनुत्तीर्ण भएका छन्।
यी विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरू गरिरहेको महानगरले बताएको छ।
पास गराउनभन्दा पास गराउने वातावरण तयार गर्नका लागि कक्षा सञ्चालन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए।
‘पास गराउन पाठ पढाइन्छ। पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ,' उनले भने, 'केही बिग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ।’
तयारी कक्षा सँगै विद्यार्थीका लागि स्वच्छ खानाको प्रबन्ध गरिएको महानगरले जनाएको छ। यसका लागि एक सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनले बताए।
११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरले बताएको छ।
महानगरभित्र भएका स्रोत विद्यालयहरूः
१) शान्ति निकुञ्ज माध्यमिक वडा नं. २०, भगवतीवारी
२) टंगाल माध्यमिक विद्यालय, वडा नं. ५ टंगाल
३) जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १३, कालीमाटी
४) शिवपुरी माध्यमिक विद्यालय, वडा नं. ३ महाराजगञ्ज
५) पद्मकन्या माध्यमिक विद्यालय, वडा नं. २९ डिल्लीबजार
६) पशुपति मित्र माध्यमिक विद्यालय, वडा नं. ७ चावहिल
७) कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, वडा नं. ३२ काटेश्वर
८) गुह्येश्वरी माध्यमिक विद्यालय, वडा नं. ९ सिनामंगल
९) शान्ति माध्यमिक विद्यालय, वडा नं. १७ थहिति
१०) तरूण माध्यमिक विद्यालय, वडा नं. १६ बालाजु
११) महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नंं ६ बौद्ध