शुक्रबार रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैं खुल्न सकेको छैन।
निरन्तर बर्षाका कारण राजगमार्गको कालीकोट खण्डका ठाउँठाउँमा पहिरा खसेका छन्। वर्षा नरोकिएका कारण पहिरो पन्छाउन समेत समस्या भइरहेको छ।
शुक्रबार राति कालीकोट खण्डको गगनेखोला र हुल्म बजारनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार पहिरो पन्छाउने प्रयास गरेपनि नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
कालीकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार शनिबार राति फेरि एसमोडमा पहिरो खसेको छ। हुल्ममा पनि थप पहिरो गएको उनले जानकारी दिए।
‘हुल्मको पहिरो केही पन्छाइएको थियो, फेरि थपिएको छ, एसमोडमा पनि पहिरो गएको छ,’ उनले भने, ‘गगने खोलामा सडक भासिएर ठूलो खाल्डो परेको छ, पानी रोकियो भने आजै सडक सुचारु हुन सक्छ।’
एसमोड र हुल्मको पहिरो पन्छाएर मात्र गगनेखोलामा भासिएको सडक पुर्न सम्भव हुने डिएसपी केसीले बताए।
कर्णाली राजमार्गको दैलेख खण्ड भने अवरुद्ध भएको छैन। शनिबार खसेको पहिरो पन्छाइएको छ। निरन्तर बर्षा भएपनि सडक अवरुद्ध नरहेको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए।
उनका अनुसार दैलेखमा पर्ने मध्यपहाडी लोकमार्ग खण्ड, दैलेख–सुर्खेत सडक खण्ड नियमित सञ्चालनमा छन्।
जाजरकोटमा पनि हालसम्म सडक अवरुद्ध भएको छैन।
छिन्चु–जाजरकोट सडक खण्ड नियमित चलेको छ। जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने पूर्वी जाजरकोटको भागमा पनि अवरुद्ध नरहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा पनि कुनै अवरोध छैन। जिल्लाका भित्री सडकहरुमा पनि सवारीसाधन चलेको उनले बताए।
यस्तै रुकुम पश्चिमको मध्यपहाडी खण्ड, सल्यानको बालुवासंग्रही–खलंगा खण्ड पनि सुचारु छन्।