लगातारको वर्षाका कारण सेती नदीको सतह बढेको छ। योसँगै बझाङका केही बस्तीमा बाढी पसेको छ। केही गाउँ भने उच्च जोखिममा परेका छन्।
शनिबार थलारा गाउँपालिका–९ झ्याँबगर गाउँमा बाढी पसेपछि त्यहाँका १४ परिवार स्थानीय विस्थापित भएका छन्।
स्थानीय राजेन्द्र विष्टका अनुसार गाउँको बीचमा सेती नदीको भँगालो पसेपछि झ्याँबगरका स्थानीयले घर छाडेका छन्।
बाढीले स्थानीयका घरभित्रको सरसमानमा क्षति गरेको छ।
बाढी पसेपछि विस्थापित भएकाहरू आफन्तका घरमा बसिरहेका छन्।
जिल्लामा बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण सेतीको जलस्तर खतराको तहमा पुगेको छ।
यस्तै सेतीको बाढीले केदारस्युँको पथुडामा दुइटा पोल बगाउँदा बझाङको विद्युत सेवा पनि अवरुद्ध भएको छ।
नदी तथा खोलामा पानीको सतह बढिरहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।