भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा सुन र चाँदीका गहनासहित नियन्त्रणमा लिइएको रूपन्देही प्रहरीले जनाएको छ।
भारतबाट नेपाल आउँदै गरेका उनलाई रूपन्देहीको रोहिणी गाउँपालिका-७ लट्ठास्थित दसगजादेखि २ सय मिटर उत्तरबाट पक्राउ गरिएको हो।
प्रहरीले उनको साथबाट अन्दाजी ८ किलो चाँदी र ८ तोला सुनका गहना बरामद गरेको जनाएको छ। प्रहरीले घटनास्थलमा मुचुल्का तयार गर्दै गरेकाले थप विवरण आउन बाँकी छ।
पक्राउ परेका सुनारले रोहिणी-७ सेमरहवामा सुनचाँदी पसल गर्दै आएको प्रहरीले जनाएको छ।