ऐतिहासिक सिन्धुलीगढी संरक्षण सम्बन्धमा सातबुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।
समृद्ध सिन्धुली अभियान र होटल संघ नेपाल सिन्धुलीले शुक्रबार संयुक्त आयोजना गरेको सिन्धुलीगढी सम्पदा संरक्षण संवादले गढीको इतिहास, सम्पदाको अवस्था र पर्यटन विकासबारे छलफलपछि उक्त प्रतिबद्धतापत्र जारी गरेको हो।
सातबुँदे प्रतिबद्धता यस प्रकार छ —
१. सिन्धुलीगढीमा जथाभाबी निर्माण भएका संरचनाले सम्पदा मासिदै गएको छ। सिन्धुलीगढीको विषयमा जे जति गुरूयोजना निर्माण गरिएका छन्, तिनलाई सार्वजनिक गरी नागरिक तहको छलफलमार्फत् संरक्षण गुरूयोजना तयार पारिनुपर्छ।
२. पौवागढीबाट सिन्धुलीगढी हुँदै चपौली जाने बाटो स्थानीयले दैनिक प्रयोग गर्ने मार्ग हो। उक्त मार्ग निर्वाध आवतजावतका लागि खुला गरिनुपर्छ।
३. सिन्धुलीगढीको सम्पदा, इतिहास मेटिँदै गएको छ। यसको संरक्षणमा सम्बद्ध निकाय जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ। ऐतिहासिक गढी, किल्ला, सम्पदा संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुसरण गर्नुपर्छ।
४. सरकारले करोडौं रूपैयाँ लगानी गरी पुनर्निर्माण गरेको रानीमहल दरबार संरक्षणविहीन अवस्थामा पुगेको छ। उक्त दरबारलाई युद्ध संग्रहालयका रूपमा विकास गरी संरक्षण गरिनुपर्छ।
५. सिन्धुलीगढीमा भौतिक संरचना निर्माण गर्नुअघि स्थानीयसँग कुनै पनि सुझाव लिने कार्य गरिएको थिएन, छैन। गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागिता सुनिश्चितता गरिनुपर्छ।
६. कप्तान किनलक मार्गका रूपमा जुन नाम प्रस्ताव गरिएको छ, त्यसप्रति हाम्रो असहमति छ। स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गरिनुपर्छ।
७. सिन्धुलीगढी विजय दिवस असोज १५ गते मनाइनुपर्छ।
सिन्धुलीगढी सम्पदा संरक्षणको नागरिक आवाज संसद, सरकार र संरक्षण निकायसम्म लैजाने प्रयासस्वरूप यो संवाद आयोजना गरिएको हो।
संवाद कार्यक्रममा सिन्धुलीगढीको ऐतिहासिक महत्त्वबारे चर्चा गरिएको थियो।
सिन्धुलीगढीलाई लिच्छविकालीन किल्लाको अवशेषका रूपमा लिइन्छ। नेपाली इतिहास र सम्पदाका दृष्टिले उच्च महत्त्व राख्ने सिन्धुलीगढी किल्ला सेन र मल्ल शासनकालमा अझ व्यवस्थित बनाइएको पाइन्छ।
पृथ्वीनारायण शाहको राज्य विस्तार क्रममा सिन्धुलीगढीमा भएको अंग्रेजसँगको लडाइँले आधुनिक नेपालको इतिहासमा ठूलो महत्त्व राख्छ।
गोर्खाबाट पूर्व बढेका पृथ्वीनारायणले काठमाडौ अधीनस्थ नुवाकोट विजय गरेसँगै काठमाडौं उपत्यका घेर्ने रणनीति बनाएका थिए। त्यस क्रममा बनेपा आसपासका गढीकिल्ला नियन्त्रणमा लिन उनी सफल भए। ससुराली राज्य मकवानपुरसमेत जितेपछि सिन्धुलीगढी किल्ला गोर्खालीको नियन्त्रणमा पुगेको थियो।
गोर्खालीको घेराबन्दीमा परेका कान्तिपुरका राजा जयप्रकाश मल्लले इस्ट इन्डिया कम्पनीसँग सैनिक सहायता मागे। नेपाल पस्ने दाउमा रहेको इस्ट इन्डिया कम्पनीले जयप्रकाशको सहायता मागलाई तत्काल स्वीकार गर्यो। कप्तान किनलोकको नेतृत्वमा २४ सय सेना खटाइयो।
किनलोकको नेतृत्वमा सुरू भएको काठमाडौं सैनिक यात्राको ढाड विक्रम सम्बत् १८२४ असोज १५ गते सिन्धुलीगढीमा भाँचिएको थियो। उक्त लडाइँमा सिन्धुली र आसपासका लडाकू युवा, महिलाले गोर्खाली सेनालाई साथ दिएका थिए। सिन्धुलीगढी क्षेत्रमा भएको यो लडाइँलाई सिन्धुलीगढी युद्धका रूपमा चिनिन्छ, जुन युद्धले नेपाललाई उपनिवेश हुनबाट बचाएको इतिहास छ।
सिन्धुलीगढी राणाकालीन प्रशासनिक केन्द्र पनि हो। यहाँ गढी चौकी, गढी दरबार, गढी बजार, सिद्धबाबा मन्दिर, काली मन्दिर लगायत थुप्रै सम्पदा छन्।
यो पनि पढ्नुहोस्: