काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरीमा रहेको मेगाड्रिम सहकारीको करोडौं रकम अपचलन प्रकरणमा अदालतले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पक्राउ परेका चार जना मध्ये तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।
उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र संयोजक उमाकान्त न्यौपाने पुर्पक्षको लागि थुनामा पठाइएका हुन्।
सूचना अधिकारी बास्कोटाका अनुसार सहकारीका सदस्य रहेका शरदकुमार अधिकारीसँग भने धरौटी माग गरेको छ।
उनीसँग ७ लाख धरौटी माग गरेको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार यस सहकारीको बचतकर्ताको करोडौं रकम अपचलन गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।
त्यसमा थुनछेक बहस भई बुधबार आदेश भएको हो। प्रहरीले यस सहकारीको अनुसन्धान सकेर जेठ २३ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
यस सहकारीमा १० जनालाई प्रतिवादी बनाइएको थियो। तर अध्यक्षसहित ६ जना अझै फरार नै छन्। अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिनकुमार कार्की, सदस्यहरू राजकुमार श्रेष्ठ, प्रकाश घिमिरे, लेखासुपरिवेक्षण समिति सदस्य सुभद्रा चौलागाई र शेखर बस्नेत फरार छन्।
उनीहरूविरूद्ध १६२ जना पीडितले जाहेरी दिएका छन्। उनीहरूले जम्मा गरेको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो।
सरकारी वकिलले सोही रकम मागदाबीसहित बिगो कायम गरेको थियो।
सरकारी वकिलले उनीहरूविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा २ अनुसार ठगी गरेको भन्दै सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी समेत गरेको थियो।
फरार रहेका अध्यक्ष महाशंकर रेग्मीले एसडिजी नामक कम्पनीमा २० करोड लगानी गरेको, ७ करोड ऋण लिएर नतिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै उनको चितवनमा र उनकी श्रीमतीको नाममा दहचोकमा समेत जग्गा खरिद गरेको देखिएको छ।
सरकारी वकिलले पेश गरेको प्रतिवेदन अनुसार उनको जोरपाटीमा रहेको लिम्पिया स्कुलमा ८ करोडको शेयर समेत देखिएको छ।