काठमाडौंमा शौचालय गएर पानी नहालेको निहुँमा झगडा हुँदा खुकुरी प्रहार गर्ने व्यक्तिमाथि मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा रामेछाप घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ५७ वर्षीय कृष्ण भन्ने चेतबहादुर अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो।
उनीविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दायर भएको हो। उनी हाल प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।
कृष्णमाथि सोही घरमा डेरा गरी बस्ने कमलबहादुर सुनुवारमाथि जेठ ७ गते मध्यराति (१२:२६ बजे) खुकुरी प्रहार गरेको आरोप छ।
मन्थली नगरपालिका-१३ घर भएका कृष्ण गोठाटारस्थित साढे २ तलाको घरको भुइँ तलामा डेरा गरी बस्थे।
उनी २०७२ सालदेखि उक्त घरमा डेरा लिएर बस्दै आएका थिए। उनीसँगै सोही तलामा करिब दुई वर्षअघि कमलबहादुर सुनुवार डेरामा बस्न आएका थिए।
पछिल्लो एक वर्षयता भने आरोपित कृष्ण र कमलबहादुर बीचको सम्बन्ध बिग्रिएको थियो।
कमल बहादुरले कृष्णमाथि पछिल्लो एक वर्षमा हेपाहा व्यवहार गर्ने गरेको सरकारी वकिलसमक्षको बयानमा भनेका छन्।
‘विगत एक वर्षदेखि उनले मलाई हेपाहा व्यवहार गर्दै आइरहेको हुँदा मलाई भित्रभित्र उनीसँग रिस उठे पनि खासै वास्ता गरेको थिएन,’ पक्राउ परेका कृष्णले भनेका छन्, ‘उनको कोठामा कहिलेकाहीँ खानपिन भोजभतेर गर्दा आफन्तहरू आएको बेलामा समेत मलाई एकदमै गिराई हेपेर बोल्ने गर्थे।’
कोठा बाहिर रहेको शौचालय, धारा लगायत फोहोर रहेको र सफा गर्न भनेर कमलबहादुरले कृष्णलाई बारम्बार भन्ने गर्थे।
कृष्ण काठमाडौंमा आफ्नी श्रीमती र नातिसँग बस्थे। गत वैशाखमा उनकी श्रीमती आफ्नो भाइको विवाहका लागि झापास्थित माइती गएकी थिइन्।
त्यसयता कमलबहादुरले कृष्णलाई थप हेप्ने गरेको महसुस भएको बयानमा भनेका छन्।
जेठ ६ गते कृष्णलाई खाना खान आफ्ना मामाका छोरा भाइको कोठामा बोलाइएको थियो। त्यहाँ खाना खान जानुअघि उनले एक खाजा घरमा गएर एक गिलास रक्सी समेत खाएका थिए।त्यसपछि भाइको कोठामा खाना खाएर अन्दाजी राति साढे ९ बजेदेखि पौने १० बजेबीच उनी कोठामा फर्किएका थिए।
कृष्णलाई पिसाब लागेपछि शौचालय गएर फर्किएका थिए। त्यही बेला कमलबहादुर आएर उनले शौचालयमा पानी नहालेको भन्दै कराएको बयानमा भनेका छन्।
‘पिसाब गरी बाहिर निस्किँदा कमलबहादुर के कताबाट आएर मलाई गाली गरी चर्को स्वरमा कराए। ट्वाइलेटमा पानी हाल्, सफा गर्, नत्र टाउको त्यही गाडिदिन्छु भनेर मलाई ट्वाइलेटभित्र धकेलेपछि म ट्वाइलेटभित्र प्यानमा पछारिन पुगेको हुँ,’ कृष्णले भनेका छन्।
त्यतिबेला उनी केही नभनी कोठामा गएर सुतेका थिए।
करिब १२ बजेतिर पिसाब लागेर कृष्ण पुन: ब्युँझिएका थिए। शौचालय गएर निस्किँदा पुन: कमलबहादुर आइपुगेका थिए। फेरि कमलबहादुरले पानी हालेर सफा नगरेको भन्दै कृष्णमाथि कराएको बयानमा भनेका छन्।
‘तँलाई भनेको लाग्दैन, पानी हालेर सफा गर् भनेको सुनिनस् भनेर मलाई पुन: ट्वाइलेटभित्र धकेलेपछि म फेरि पछारिएँ। मलाई साह्रै रिस उठेपछि ट्वाइलेटबाट उठेर मुठ्ठीले उनको छातीमा हान्दा उनी पछाडि सरेका थिए,’ उनले बयानमा भनेका छन्, ‘कोठाभित्र जान खोज्दा उनले मलाई लात्ताले हिर्काउँदा म मेरो कोठाभित्र खाटमुनि बजारिन पुगेँ।’
त्यसैबीच कृष्णले आफूलाई अत्यधिक रिस उठेर मासु काट्ने खुकुरी उठाएको भनेका छन्।
‘मासु काट्ने खुकुरी उठाएर प्यासेजमा जाँदा प्यासेजमै भेटाएर त्यहीँ खुकुरी प्रहार गरेको हुँ। हातले छेकेर खुकुरी समातेपछि मैले जताततै हिर्काएको हुँ,’ कृष्णले भने, ‘सो क्रममा उनको हातको औंला छिनिएको हो।’
खुकुरी प्रहारबाट उनको हात र पेटमा समेत चोट लागेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते भएपछि कमलबहादुरले गुहार मागेका थिए। त्यसपछि स्थानीय भेला भए। कमल बहादुरलाई मदरल्याण्ड अस्पताल लगिएको थियो। त्यहाँबाट ट्रमा हुँदै भ्याली अस्पताल सुन्धारामा उपचार गराइएको थियो।
प्रहरी पनि घटनास्थलमा पुगेर कृष्णलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
हाल कृष्णमाथि सरकारी वकिल कार्यालयले ज्यान सम्बन्धी कसुरमा सजायको माग गरेको छ। यस कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।