निर्मला कुर्मी र सुमदरानी थारूलाई न्याय माग गर्दै महिला अधिकारकर्मी रूबी खान काठमाडौंको माइतीघर मण्डलमा अनसन बसेकी छिन्।
उनी जेठ २५ गतेदेखि अनसन बसेकी हुन्।
'जेल भरौं' अभियानका साथ महिला अधिकारकर्मी खानसहित १४ जना बिहीबार काठमाडौं आइपुगेका थिए।
उनीहरू गत बुधबार बाँके जिल्ला प्रहरी कार्यालयबाट निस्किएका थिए।
निर्मला कुर्मीको हत्या आरोपमा दोषी व्यक्तिलाई पक्राउ नगरी निर्दोषलाई डर धम्की देखाउन थालेको भन्दै खानले जिल्ला प्रहरी कार्यालय बाँकेमा एक सातासम्म धर्ना दिएकी थिइन्।
धर्नालाई सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै उनी संघीय सरकारलाई नै ध्यानाकर्षण गराउन काठमाडौं आएकी हुन्। उनी ‘प्रहरीको ज्यादती बन्द गर' भन्दै धर्नामा बसेकी छन्।
'राजनीतिक दबाब र प्रभावमा निर्दोषलाई फसाउने बाँकेका अहिलेका एसपी र अनुसन्धान अधिकृत चाहिँदैन। प्रहरीले आमनागरिकको अधिकार हनन् गर्न पाउँदैन' भन्दै उनी धर्नामा छिन्।
उनीहरू गत 'जेल भरौं' अभियानका साथ काठमाडौं आइपुगेका हुन्। उनीहरू बिहीबार साँझ कंलकीदेखि हिँडेर माइतीघर मण्डल आएका थिए।
प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको भन्दै खान माइतीघरमा अनसन बस्न थालेकी छन्। खानसँगै आएका १३ जनाले उनलाई साथ दिएका छन्।
कुर्मी हत्या प्रकरणमा निर्दोष परिवार र आफन्तहरूलाई फसाउने तथा अभियुक्तहरूलाई पक्राउ नगर्ने प्रवृत्ति देखिएकोमा आफूले विरोध गरेको खानको भनाइ छ।
'अपराधीलाई पक्राउ गर्नुको सट्टा जाहेरी दिने व्यक्तिलाई नै डर धम्की देखाउने, मुद्दा फिर्ता लिन लगाउने काम भइरहेको छ,' उनले भनिन्, 'आरोपित व्यक्तिले पटक-पटक जाहेरी फिर्ता लिन भन्दै धम्की दिँदै आएका छन्।'
कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ।
उनको न्यायका लागि आन्दोलनमा खटिएका व्यक्ति नै असुरक्षित भएपछि पुन: आन्दोलन गर्न काठमाडौं आउनु परेको खानले बताइन्।
कुर्मीको न्यायको लागि लामो समयदेखि खानले आवाज उठाउँदै आएकी छन्। उनी यसअघि पनि तीन पटक न्याय माग्दै काठमाडौं आएकी थिइन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
उनी पहिलो पटक बाँकेबाट २० दिन हिँडेर काठमाडौं आइपुगेकी थिइन्। भने दोस्रो पटक ४२ दिन हिँडेर काठमाडौं आइपुगेकी थिइन्।
तेस्रो पटक २०७९ पुस दोस्रो सातामा तेस्रो चरणको आन्दोलनका लागि काठमाडौं आएकी थिइन्। बिहीबारदेखि उनी चौथों चरणको आन्दोलनमा छिन्।
यसअघि सरकारसँग सम्झौता भएपछि आफू फर्केको बताएकी उनले यसपालि भने माग पूर्ण कार्यान्वयन हुने प्रक्रियाअगाडि नबढेसम्म अनसनमा बसिराख्ने बताउँछिन्। उनले ६ बुँदै माग राखेकी छन्।
बाँके जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्की र अनुसन्धान अधिकृतले निर्दोषलाई पक्राउ गरेकाले उनीहरूमाथि कारबाहीको माग उनले गरेकी छन्।
निर्मला कुर्मीको मुद्दा अदालतमा पुर्याउनुपर्ने, एकल/विधवा महिला माहेलका तेली लगायतका जाहेरीबाट नाम खारेज गरी तत्काल स-सम्मान थुनामुक्त गरिनुपर्ने लगायतका माग पनि उनको छ। रझेना निवासी सुमदरानी थारूको बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गर्न पनि उनले माग गरेकी छन्।
'समदरानी थारूको हत्या भएको एक वर्ष भइसक्यो। अहिलेसम्म प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन,' उनले भनिन्, 'उनको गत वर्ष घाँटी काटेर हत्या भएको थियो,' उनले भनिन्।
त्यस्तै पाँच वर्षीया बालिकामाथि खुकुरी प्रहार गर्नेलाई तत्काल कारबाही गर्न पनि उनले माग गरेकी छन्।
सरकारले आन्दोलनकारीको सुरक्षा, उनीहरूका परिवार र आफन्तलको सुरक्षाको जिम्मा लिने भने पनि अहिले पीडितका परिवार र आफन्तमाथि डर धम्की दिने र कुटपिट गर्ने काम भइरहेको उनले बताइन्।
उनी निर्मला कुर्मी लगायत अन्य घटनामा वास्तविक दोषी पत्ता नलगाई निर्दोष व्यक्ति र एकल महिलालाई फसाउने काम बाँकेमा भइरहेको दाबी गर्छिन्। त्यसैले यसबारे सरकारलाई जानकारी गराउन आफू काठमाडौं आएको उनले बताइन्।
'जिल्लाले अनुसन्धानका क्रममा आम नागरिकलाई डर यातना, धक्की दिने काम गरिरहेको छ। न्यायको माग गर्दै काठमाडौं आउनुपरेको हो,' उनले भनिन्।
कुर्मीको हत्यामा सिआइबी टोलीले २०८० पुस २६ गते प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो। तर हालसम्म मुद्दा अदालतमा पुर्याइएको छैन। यसमा सरकारले कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै सुमदरानी थारूको बलात्कार गरी हत्यामा पनि तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन उनले माग गरिन्। 'राजनीतिक दबाब र आर्थिक प्रलोभनमा परेर प्रहरीले आफ्नो धर्म भुल्न नहुने' उनको भनाइ छ।
यीबाहेक जानकी गाउँपालिका वडा नम्बर २ बकोटीया फुलपुरवा र दमादन पुरवाको बीचमा भएको व्यक्तिको हत्यामा वास्तविक दोषी पत्ता लगाउन उनले माग गरेकी छन्।
यसअघि पनि सरकारलाई यी घटनाबारे जानकारी दिइएको उनको भनाइ छ।