काठमाडौंको सुविधानगरस्थित डिलरमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
बुधबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुने सुविधानगर मार्गमा ५ तले घरमा लागेको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दिलीपकुमार साहले संचालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा अचानक आगलागी भएको थियो। उक्त डिलरमा चाउचाउ, बिस्कुट राखिएको ठाउँमा ग्यास लिक भएर आगलागी भएको डिएसपी थापाले बताए।
आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरीको नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट टोली खटिएको थियो।
यस्तै प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। आगलागीबाट दुई जना घाइते समेत छन्। आगलागीबाट धनुषा घर भई कालिमाटी बस्ने २३ वर्षीय बिक्कर लामा र सूर्यविनायक नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय उदय श्रेष्ठ घाइते छन्।
उनीहरू दुवैको हात र खुट्टामा आगोले पोलेको छ। उपचारको लागि कान्तिपुर अस्पताल लगिएको छ।