सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ।
महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ।
बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।
डिभिजन कार्यालयका अनुसार यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनिएको थियो। उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरिएको थियो। तर हालसम्म काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।
हेर्नुस् डिभिजन कार्यालयको पत्रः
श्री काठमाडौं महानगरपालिका
कमलादी, काठमाडौं।
विषयः सडक पुनर्स्थापना गरिदिने सम्बन्धमा।
प्रस्तुत विषयमा तहाँ कार्यालयबाट विभिन्न मितिमा यस डिभिजनको मातहतमा रहेका विभिन्न सडक खण्डहरूमा विभिन्न कामहरूका लागि जानकारीका लागि भनी पत्राचार भएकामा यस कार्यालयबाट मिति २०८०/१०/१८ को च.नं. १०२६ को सहमति प्रदान गर्नुपूर्व विभिन्न सर्तहरू पूरा हुनुपर्ने आशयको पत्र प्राप्त गर्नुभएकै होला।
त्यसै गरी मिति २०८१/०२/०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमतिबिना कुनै पनि काम नगर्न/नगराउनु हुन भनी अनुरोध गरिए पनि मिति २०८१/१/१२ मा बिना सहमति न्यूरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडक खण्डमा तहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकाले सो कार्य तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१/२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन।
नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ। तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ। अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने बेहोरा समेत अनुरोध छ।
ई. नारायणदत्त भण्डारी
डिभिजन प्रमुख।