काठमाडौं महानगरपालिकाल सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्।
मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्।
‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला,’मेयर बालेनले मन्त्री महासेठलाई सम्बोधन गर्दै लेखेका छन्।
हामीले मेयर बालेनले राखेको भिडिओबारे उनको सचिवालयलाई सोधेका छौं।
मेयर बालेनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाइँले पटकपटक समन्वय गर्दापनि चक्रपथ विस्तार आयोजनाको काम सम्पन्न नभएपछि उक्त कदम चालिएको बताए।
‘लामो समयसम्म चक्रपथ विस्तार आयोजनाको काम सम्पन्न नभएपछि सर्वसाधारणले समस्या भोग्न परेको थियो। पटक पटक पनि सम्बन्धित निकायहरूसँग समन्वय गर्न खोज्दापनि काम नभएपछि उक्त कदम चालिएको हो,’ उनले भने।