सप्तरीको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सप्तकोशी नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
सुवेदीलाई प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नं. १ लोथरबाट शनिबार पक्राउ गरेको हो।
उनीमाथि सप्तकोशी नगरपालिका वडा नं. १ मा रहेको नेपाल बैंकका सुरक्षागार्ड ५५ वर्षीय पर्शुराम फुयाँलको हत्या गरेको आरोप छ।
गत बिहीबार बिहान फुयाँल बैंकमा मृत भेटिएका थिए। उनीमाथि खुकुरी प्रहार भएको थियो।
यस घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयसँगै मधेस प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो।
सिसीटिभी फुटेजबाट घटनामा उनको संलग्नता पुष्टि भएको थियो। डिएसपी न्यौपानेका अनुसार पक्राउ परेका सुवेदी बैंक लुट्ने उद्देश्यले गएका थिए।
‘लुट्न जाने भन्ने हिसाबले बैंकमा प्रवेश गरेको देखियो। उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका रहेछन्,’ डिएसपी न्यौपानेले भने।
करिब राति साढे १२ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए। लुटपाटका लागि उनले आफूसँग हेक्साब्लेड, रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेका थिए।
त्यही सामग्रीको प्रयोग गरी बैंकमा रहेको एउटा ताला फोड्न भ्याएका थिए। यद्यपि, दोस्रो तहको ताला भने फोड्न सकेनन्। त्यसो नसकेपछि उनी सुरक्षा गार्ड फुँयालको कोठामा प्रवेश गरे।
‘त्यहाँ बैंकभित्र उनले दुई घन्टा जति बिताए। बैंकको ताला एउटा फोडे पनि अर्को फोड्न सकेनन्,’ डिएसपी न्यौपानेले भने, ‘चाबी नलिई हुन्न भन्ने भएपछि उनी ३ बजेतिर गार्डको कोठामा गए।’
कोठामा रहेको चाबी देखेपछि खोस्न खोजेका थिए। तर त्यसबेला सुरक्षागार्ड फुँयालले चाल पाएका थिए।
जसपछि दुई जनाबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ।
त्यसपछि त्यहाँ रहेको खुकुरीले फुँयालमाथि प्रहार गरी हत्या गरेका थिए। उनले बैंकमा लुटपाट गर्न भने भ्याएनन्।
हत्या गरेर भागेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो। सिसिटिभी फुटेज र अन्य प्राविधिक विश्लेषणको आधारमा प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो।
प्रहरीले उनको आपराधिक पृष्ठभूमिको पनि खोजी गरेको थियो। यद्यपि त्यसबारे केही फेला नपरेको प्रहरीको भनाइ छ।
बरू उनले आफू आर्थिक समस्यामा रहेको कारण बैंक लुट्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन्।
‘आर्थिक समस्या रहेको भनेका छन्। २४/२५ लाख ऋण रहेकाले तिर्न नसकेर लुट्न खोजेको भनेका छन्,’ डिएसपी न्यौपानेले भने।
त्यस्तै उनले केही समय सशस्त्र प्रहरीको जवान भएर समेत काम गरेको खुलेको छ। उनी २०७० सालमा सशस्त्रको प्रहरी जवान भएर काम गरेको र २०७९ पुसमा राजीनामा स्वीकृत भएको थियो।
प्रहरीले उनीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ। पक्राउ गरेपछि उनले लुकाएका सामानको खोजी गरिएको थियो। कतिपय सामान उनकै घरबाट बरामद भएको थियो।
जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।