कर्तव्य ज्यान कसुरमा जन्मकैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा ४७ वर्षीय शंकर आले छन्। उनलाई सिआइबीले नवलपरासी देवचुली नगरपालिका वडा नं. १३, प्रगतिनगरबाट पक्राउ गरेको हो।
उनी नम्बर ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत पूर्व सैनिक हुन्।
२०६१ कात्तिक २९ गते साबिक चित्लाङ गाबिस-३स्थित कच्ची सडकमा मार्खु गाबिस-४ बस्ने पूर्णबहादुर विष्टमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिट गरेको भोलिपल्ट बिहान १० बजेतिर पूर्णबहादुर मार्खु र चित्लाङको दोसाधमा पर्ने काल्सिङ खोलामा मृत फेला परेका थिए।
कुटपिट गरी हत्या गरेको मुद्दामा २०७२ वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले शंकर आलेलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद हुने ठहर गरेको थियो।
उक्त घटनापछि पक्राउ नपरी हालसम्म फरार रहेका आलेलाई सिआइबीले आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका आलेलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।