नुवाकोटमा यति बेला सिन्दुरे (वर्ष बन्धन) जात्रा चलिरहेको छ।
२०८० सालको सिन्दुरे जात्रा तिथिमितिका कारण २०८१ सम्म आइपुगेको हो।
जात्रामा बिहीबार धामी, धमिनी, गणेश, कुमार, गुठीयार लगायत टोलीहरू बाजागाजा र निसानसहित भैरवी माइको स्थानबाट तुलजा भवानीको मन्दिर गएका थिए।
त्यस क्रममा उनीहरूले एकअर्कालाई सिन्दुर हालेर रमाइलो गरे।
शुक्रबार तुलजा भवानी मन्दिर परिसरमा विधिपूर्वक स्याबजी बाँड्ने काम हुँदैछ।
सिन्दुरे जात्रा चैत २६ अर्थात् कृष्ण चर्तुदर्शीदेखि सुरू भएको हो। आधिकारिक रूपमा भने वैशाख १० गते बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिर अगाडि यःसि (लिंगो) ठ्ड्याएपछि सुरू भएको हो।
वैशाख २१ गते भैरवीको र वैशाख २२ गते बुढी भैरवीमा रहेको यःसि ढालेपछि यो वर्षको वर्ष बन्धन अर्थात् सिन्दुरे जात्रा समापन हुन्छ।
जात्रामा धामी बन्ने व्यक्तिको विशेष भूमिका हुन्छ। ८४ वर्षका हरिमानसिंह डंगोलले उक्त भूमिका निर्वाह गरिरहेका छन्।
जात्रापछि उनी धामी नभई भैरवीका पूजारी बनेर भगवानको सेवा गर्छन्।