गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडीले भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्यपि नियमित आउँदैनन्।
कुनै पनि महिलाले महिनावारी रोकिएको थाहा पाएलगत्तै नजिकको स्वास्थ्य संस्थामा अनिवार्य जानुपर्छ। गर्भावस्था थाहा पाएपछि स्वास्थ्य परीक्षण गर्नुपर्छ। कहिलेकाहीँ गर्भावस्था भएको तीन महिनापछि मात्रै अस्पताल जाने चलन छ। त्यस्तो गल्ती गर्नु हुँदैन।
गर्भ रहेको तीन महिनापछि भिडिओ एक्सरे गरेर बच्चा ठीक ठाउँमा छ कि छैन भनेर थाहा पाउन सकिन्छ। त्यस्तो गरेमा ‘मिस क्यारेज’ हुने खतरा छ कि छैन भनेर थाहा पाउन सकिन्छ। थाइराइड, भिटामिन 'डी' को परीक्षण गरिरहनुपर्छ। जसले बच्चाको विकासमा सहयोग गर्छ। फोलिक एसिड खानुपर्छ। यसले दुर्घटना हुने खतरा कम हुन्छ।
गर्भ रहेको पहिलो चरणमा धेरैलाई वाकवाकी लाग्ने हुन्छ। त्यस्तो अवस्थामा स्वस्थ खाना खानुपर्छ। थोरै-थोरै खाइरहनुपर्छ। कतिपय अफिस जाने महिला हुन्छन्। उनीहरूले घरबाटै खाना लिएर जानुपर्छ। सामान्यतः घरमा आफूभन्दा ठूला सदस्यले खान हुँदैन भनेको खाना नखाँदैमा केही बिग्रिँदैन। धेरै चिल्लो पिरो खान हुँदैन।
सुरूआती चरणमा अचम्म अचम्मको खाना खान मन लाग्छ। कसैलाई बाटोमा बेच्न राखेको पानीपुरी खाइदिन मन लाग्छ। तर त्यस्तो गर्नु हुँदैन। बरू घरमै बनाएर खान सकिन्छ। काँचो मेवा, भुइँकटहर खान हुँदैन भनिन्छ। यसले पाठेघर खुम्च्याउँछ।
अण्डा, दाल, माछा मासु खानुपर्छ। माछा मासु नखानेले दही, पनिर, दूध खानुपर्छ। यसले आमा र बच्चा दुवैलाई राम्रो गर्छ।
महिलाले फोलिक एसिड सुरूदेखि नै खानुपर्छ। तीन महिनासम्म फोलिक एसिडमात्रै खानुपर्छ। त्यसपछि आइरन र फोलिक एसिड खानुपर्छ। बच्चा जन्मिएको ६ हप्तासम्म पनि फोलिक एसिड खानुपर्छ।
१२ देखि १३ हप्ताको बीचमा एउटा भिडिओ एक्सरे गर्नुपर्छ। त्यो बेलामा बच्चाको अवस्था थाहा हुन्छ। त्यो बेलामा टिटानशको खोप लगाउनुपर्छ। १ महिनाको ग्यापमा अर्को डोज खोप लगाउनुपर्छ।
कोरोनाको खोप लगाएको छैन भने लगाउन सकिन्छ। यसले बच्चालाई कुनै हानि गर्दैन। यसको लागि डराउन पर्दैन। भर्खरै गर्भ रहेको छ, गर्भवती हुने योजना छ भने पनि कोभिड विरूद्धको खोप लगाउन सकिन्छ।
२०-२२ हप्तामा बच्चाको पूर्ण विकास हुन्छ। बच्चाको शरीरको सबै अंग बनिसकेपछि उसको विकास हेरिन्छ। चिकित्सकले नाप्दा सानो लाग्यो भने भिडिओ एक्सरे गरिन्छ। त्यस्तो गर्दा समय अनुसार बढेको रहेनछ भने त्यसको आधार खोजिन्छ। त्यसकै आधारमा खाना खानुपर्छ।
कतिपय महिलाले आराम समेत पाएका हुँदैनन्। त्यसैले पर्याप्त आराम गर्नुपर्छ। गर्भवती महिलाले हल्का व्यायाम गर्नुपर्छ। तर धेरै गर्नु हुँदैन। बिहान-बेलुका एक घण्टा बिस्तारै हिँडेको राम्रो हो। गह्रुङ्गो सामान उचाल्नु हुँदैन।
व्यायाम गर्नेको 'नर्मल डेलिभरी' हुन्छ अरूको हुँदैन भन्ने होइन। त्यो चाहिँ बच्चाको आकार अनि आमाको अवस्थाले भर पार्छ।
पेटको बच्चा असाधारण खालको छ भने त्यस्तो अवस्थामा गर्भ खेर जानसक्छ। यो प्राकृतिक नै हो। कहिलेकाहीँ साल तल बस्यो अनि पाठेघरको मुखको समस्याले गर्दा पनि यस्तो हुन्छ। त्यसैले एउटाभन्दा अर्को गर्भ खेर जानसाथ हामीले सबै परीक्षण गर्छौं।
गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने, के खाने लगायतका विषयमा ध्यान दिने लगायतका विषयमा हामीले काठमाडौं मेडिकल कलेज (केएमसी) र एभरेष्ट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ सह-प्रा डा ज्योत्सना शर्मासँग भिडिओ कुराकानी गरेका छौं।